भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

भूकम्पबाट जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ। 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन्। 

उनले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिलसमेत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। 

भूकम्पबाट जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ। यस्तै, जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन्।