भूकम्प अपडेट: रुकुम पश्चिममा मृत्यु भएका ३६ मध्ये २७ को सनाखत

भूकम्पमा परेर मृत्यु हुनेमा धेरै बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

काठमाडौँ– रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु भएका ३६ मध्ये २७ जनाको सनाखत भएको छ। 

आठबिसकोट नगरपालिकाका १८ र सानीभेरी गाउँपालिकामा ९ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विवरण अनुसार मृत्यु हुनेमा धेरै बालबालिका छन्।

भूकम्पमा परी आठबिसकोट नगरपालिका १२ का १४ वर्षीय रमेश पुन, सोही ठाउँका १३ वर्षीय डिलबहादुर केसी, १४ नम्बर वडाका ३ वर्षीय बासु बुढा, सोही ठाउँका ३० वर्षीय अमृता जैसी, ५ वर्षीय भावना जैसी, २ वर्षीय दिपेन जैसी, १२ वर्षीया सरिता विक, १३ वर्षीय मदन गौतम, ८३ वर्षीय करे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, सानीभेरी गाउँपालिका–२ परियार टोल बस्ने महावीर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाइनाबगरकी ३१ वर्षीय धनबिर पुन, २८ वर्षीया चुम्निमा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन र १० महिने बालक रेजन वलीको पनि मृत्यु भएको छ ।

यस्तै, ११ नम्बर वडाकी ३५ वर्षीया शिला कामी, १३ वर्षीया सृजना कामी, ९ वर्षीया रिया कामी, ६ वर्षीया दिया कामी, ४ वर्षीया आशा कामी र १८ महिनाकी एलिसा कामीको पनि मृत्यु भएको छ।

पूर्वी रुकुम घर भई आठबिसकोट नगरपालिका–१४ बस्दै आएका ३० वर्षीय किस्मत पुनमगर, बर्दिया घर भई आठबिसकोट नगरपालिका १४ छेपारेमा बस्दै आएका ४७ वर्षीय खड्ग विक र ३६ वर्षीय अनिल विकको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी सानीभेरी गाउँपालिका ४ बस्ने आठ वर्षीय निर्जल चन्द, २५ वर्षीय शकुन्तला दमाई र ६ वर्षीय कृष्ण परियारको पनि भूकम्पमा परी मृत्यु भएको छ।

घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ।