भूकम्पलगायत प्राकृतिक प्रकोपमा परी घाइते भएकाको उपचारको पूर्वतयारीमा सरकार नजुट्दा जाजरकोटमा भूकम्प गएको ९ घण्टा बितिसक्दा पनि घाइतेहरूको कहाँ कसरी र कसले उपचार गर्ने भन्ने अन्योल उत्पन्न भएको छ।
काठमाडौँ– जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १२९ जनाको मृत्यु भएको पुष्टि भएको छ।
भूकम्पबाट क्षतिग्रसत कैयौँ स्थानमा उद्धार हुन नसकेकाले क्षति अझै बढ्ने सुरक्षा अधिकारीले अनुमान गरेका छन्। भूकम्पमा परी हालसम्म १४० जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ।
तर, उनीहरूको उपचार भने लथालिङ्ग भएको छ। भूकम्पलगायत प्राकृतिक प्रकोपमा परी घाइते भएकाको उपचारको पूर्वतयारीमा सरकार नजुट्दा जाजरकोटमा भूकम्प गएको ९ घण्टा बितिसक्दा पनि घाइतेहरूको कहाँ कसरी र कसले उपचार गर्ने भन्ने अन्योल उत्पन्न भएको छ।

त्यसैले आफ्नो ज्यान बचाउन भूकम्पमा परी घाइते भएकाहरू आवश्यक उपचारको खोजी गर्दै व्यक्तिगत प्रयासमा जाजरकोट छोडेका छन्। भूकम्पमा परी गम्भीर घाइते भएका ७ जना शुक्रबार राती नै प्रदेश अस्पताल सुर्खेत पुगेका थिए। उनीहरू सडकबाटै प्रदेश अस्पताल आइपुगेको अस्पतालका प्रमुख डा. डम्बर खड्काले बताए। उनका अनुसार यी घाइतेको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ र अवस्था स्थिर रहेको छ।
भूकम्पमा परी घाइते भएका एक जना एम्बुलेन्समार्फत बाँके, नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि पुगेका छन्। उनी अस्पताल पुग्नासाथ उपचार शुरू गरिएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए। डा. थापाका अनुसार भूकम्पमा परी घाइते भएका ४ जना उपचार गराउन अस्पताल आउन लागेका छन्। उनीहरू अहिले बाटोमै रहेको डा. थापाले बताए।
घाइतेहरू उपचारको खोजी गर्दै किन जाजरकोट छोड्दै छन्? जाजरकोट अस्पतालमा घाइतेले भरिभराउ भएको र त्यहाँ आवश्यक उपचार हुन नसकेपछि आफू नेपालगन्ज आउन बाध्य भएको भेरी अस्पतालमा भर्ना भएका घाइतेका परिवारका एक सदस्यले बताए। उनले भने, “भूकम्पमा परेर घाइते भएपछि हामीले हाम्रो मान्छेलाई जाजरकोट अस्पताल पुर्याएका थियौँ। तर, त्यहाँ लामो समय कुर्दासमेत उपचार गर्ने कोही नआएपछि हामीले रातारात घाइतेलाई नेपालगन्ज ल्याउन बाध्य भएका हौँ।”
जाजरकोट अस्पतालका स्वास्थ्यकर्मी लालु बस्नेतले उक्त अस्पताल ५० बेडको मात्रै भएको घाइते धेरै भएकाले उपचार गर्न आफूहरूलाई कठिन भएको बताए। उनले भने, “हाम्रो अस्पताल जम्मा ५० बेडको हो। तर घाइतेहरू निकै धेरै छन्। उपचार व्यवस्थापनमा हामीलाई समस्या भएको छ।” उनका अनुसार अस्पतालमा स्वास्थ्यकर्मी तथा चिकित्सकको कमी हुँदा घाइतेको उपचारमा समस्या भएको छ। अस्पतालमा बेड अभाव भएपछि अस्पतार परिसरको भुईँमै राखेर घाइतेको उपचार भइरहेको छ।

जिल्ला अस्पताल जाजरकोटका इन्चार्ज प्रतिक्षा भारतीले भूकम्प लगत्तै नजिकका घाइतेको उद्धार गरेर ल्याउँदा पनि अस्पतालमा उपचार गर्ने ठाउँ अभाव भएको बताइन्। बिहानसम्म जिल्ला अस्पतालमा ल्याइएका १०० जना घाइतेमध्ये ३१ जनाको उपचारका क्रममा मृत्यु भएको उनको भनाइ छ। उनले भनिन् जिल्लामा ठूलो भूकम्प गयो । घाइते धेरै भएका छन्। उनीहरूको उपचार गर्न कठिन भएको छ। किनभने हामीसँग जनशक्ति थोरै छ।
गम्भीर घाइतेको उद्धार गरेर जाजरकोटबाट अन्यत्र लैजाने काम भइरहेको छ कि छैन? नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीका भूकम्पमा परी गम्भीर घाइते भएका तीन जनालाई सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएको छ। शुक्रबार बिहान नेपाली सेनाका चिकित्सकसहितको टोली जाजरकोटको भूकम्पबाट क्षतिग्रस्त आठबिस नगरपालिकामा पुगेको थियो। सोही हेलिकप्टरमार्फत तीन जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको हो।

घाइेतहरू आफ्नो ज्यान बचाउन व्यक्तिगत रूपमा जिल्ला छोडेर सुविधा सम्पन्न अस्पतालको खोजी गर्दै सुर्खेत र नेपालगन्ज झर्न थालेपछि मात्रै सरकारले नेपालगन्जको भेरी अस्पताललाई भूकम्पका घाइतेको उपचारका लागि डेडिकेट अस्पताल तोकेको छ। भूकम्पले जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा धेरै क्षति पुर्याएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
