जाजरकोट भूकम्पप्रति दुःख व्यक्त गर्दै मोदीले भने– सहयोग गर्न तयार छौँ

नेपाली जनताको दुःखको बेला साथमा रहेको र हरसम्भव सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ छ।

काठमाडौँ– जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।

नेपाली जनताको दुःखको बेला साथमा रहेको र हरसम्भव सहयोग गर्न तयार रहेको मोदीको भनाइ छ।

“भारत नेपाली जनतासँगै उभिएको छ र हरसम्भव सहयोग गर्न तयार छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ,” उनले सामाजिक सञ्जालमा भनेका छन्।

शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ।