सेना भन्छ– प्रभावित क्षेत्रमा खोज र उद्धार तीव्र बनाएका छौँ, ४ मेडिकल टिम परिचालित छ

शनिबार एक विज्ञप्ति जारी गर्दै सेनाले रातिबाटै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको बताएको छ ।

काठमाडौँ– जाजरकोट भूकम्पमा परी घाइते र प्रभावित भएकाको खोज तथा उद्धार कार्यलाई तीव्र पारेको नेपाली सेनाले जनाएको छ।

जाजरकोट र रुकुम पश्चिममा परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। परिचालित फौजले मृतकको शव निकाल्नुका साथै गर्नुका साथै घाइतेको उद्धार गरी अस्पताल पठाउने कार्य गरी रहेको विज्ञप्तिमा जनाइएको छ। 

“खोज र उद्धारका साथै काठमाडौँ, सुर्खेत र नेपालगन्जका चिकित्सक र स्वास्थ्य सामाग्री सहितको टोली थप उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएको छ,” सेनाले भनेको छ, “उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा. अधिकृतको टोली तयारी हालतमा राखिएको छ।”

यस्तै, सेनाले हालसम्म भूकम्प प्रभावित क्षेत्रमा मेडिकल टिमसहित चार उद्धार टोली खटाएको जनाएको छ। हालसम्म भूकम्प प्रभावित जिल्लामा खोज तथा उद्धार कार्य गर्न एनए–०५७ एमआई हेलिकप्टरबाट काठमाडौँबाट ३ चिकित्सकसहित १६ जनालाई चौरजहारीमा झारिएको छ। 

काठमाडौँबाट १६ जनलाई एनए–०१६०६४ स्काइ ट्रकबाट चौरजहारी झारेको सेनाले बताएको छ। एनए–०६१ बेल हेलिकप्टरबाट ३ जनाको टोली सुर्खेतबाट जाजरकोटको लामीडाँडा पठाएको छ।

यसैगरी, एनए–०३८ एमआई हेलिकप्टरमार्फत काठमाडौँबाट २६ जनाको मेडिकल टिमलाई चौरजहारीमा परिचालन गरेको सेनाले बताएको छ।