भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रका ३६७ जनशक्ति परिचालन

सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरूमा विपद् उद्धारमा दक्ष जनशक्ति परिचालन गरेको छ भने अन्य युनिटहरूबाट समेत फौज परिचालनका लागि तयारी हालतमा राखिएको जनाएको छ।

काठमाडाैँ– जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु बनाई गएको भूकम्पमा परेकाहरूको खोज तथा उद्धारको लागि सशस्त्र प्रहरीले जाजरकोट र पश्चिम रुकुममा ३६७ जनशक्ति परिचालन गरेको छ।

हालसम्म भूकम्पमा परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३७ जना गरी १३२ जनाको मृत्यु भएको छ भने १५५ जनाको उद्धार गरिएको छ। भूकम्पमा परेकाहरूको खोज तथा उद्धारको लागि जाजरकोटमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. निश्चल घिमिरेको कमान्डमा ४ जना मेडिकल टोली, नम्बर ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७० जना, नम्बर ४२ रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा २२ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित २५ जना परिचालन भएका छन्।

आश्रित गुल्म जाजरकोटबाट ७० जना र आश्रित गुल्म दैलेखबाट २५ जना गरी जम्मा १९४ जना सशस्त्र प्रहरी कर्मचारीहरू आवश्यक उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यस्तै पश्चिम रुकुममा नेपाल सशस्त्र प्रहरी अस्पतालबाट प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. रोशन पराजुलीको कमान्डमा ९ जना, नम्बर २९ ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा २१ जना, नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट १०७ जना, आश्रित गुल्म पूर्वी रुकुमबाट २ जना, विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित ११ जना, आश्रित गुल्म सल्यानबाट २५ जना गरी जम्मा १७३ जना सशस्त्र प्रहरी कर्मचारीहरू परिचालन भएका छन्। 

सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरूमा विपद् उद्धारमा दक्ष जनशक्ति समेत परिचालन गरेको छ भने अन्य युनिटहरूबाट समेत फौज परिचालनको लागि तयारी हालतमा राखिएको जनाएको छ।