भूकम्पपीडितको उद्धार र राहत एकद्वार प्रणालीबाट : गृहमन्त्री

गृहमन्त्री श्रेष्ठले भूकम्पमा परी घाइते भएकाहरूको सम्बन्धित स्थानमै उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्दै खोजी, उद्धार र उपचारलाई प्रमुख नीति बनाएको बताए।

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपीडितको उद्धार र राहतको प्रक्रिया एकद्वार प्रणालीबाट गर्ने निर्णय गरिएको बताएका छन्। गृह मन्त्रालयको आकस्मिक बैठकपछि उनले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललाई परिचालित गरेको जानकारी दिँदै आवश्यक परेको अवस्थामा थप जनशक्ति पठाउने निर्णय गरेको बताए।

“रेस्क्युका लागि आवश्यकताअनुसार दक्ष जनशक्ति पटाउनेछौँ। बिहानदेखि नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन भएका छन्। उद्धार र राहतका कामहरू एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय पनि गरिसकेका छौँ,” उनले भने।

उनले आवश्यकताअनुसार कम्बल, पाल, खानेकुराहरूको व्यवस्था गर्नुको साथै भूकम्पका कारणले अवरुद्ध सडकहरूलाई चाँडै खुलाउनका लागि प्रयासहरू भइरहेको बताए।

“आजको आवश्यकता हेरेर हामीले कम्बल, पाल, खानेकुराका लागि जे–जे आवश्यक हुन्छ त्यसको व्यवस्था भइसकेको छ, पुगेन भने तुरुन्तै खबर गर्न प्रादेशिक सरकार र जिल्ला व्यवस्थापन समितिहरूलाई निर्देशन दिएका छौँ। त्यसको तत्काल व्यवस्था गर्छौं,” उनले भने, “भूकम्पको अवरुद्ध भएका सडकलाई केही घण्टाभित्रै खुलाउनका लागि आवश्यक सामग्री पुगिसकेको छ। सडक विभागलाई त्यसको जिम्मेवारी दिएका छौँ।”

उनले प्रधानमन्त्रीको निर्देशनमा घाइतेहरूको सम्बन्धित स्थानमा उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्दै खोजी, उद्धार र उपचारलाई प्रमुख नीति बनाएको बताए।

“प्रधानमन्त्रीको निर्देशनमा घाइतेहरूको सम्बन्धित स्थानमा उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेर त्यो काम भइरहेको छ। अहिले हाम्रो प्रमुख नीति सर्च, रेस्क्यू र रिलिफलाई बनाएका छौँ,” उनले भने, “त्यसअन्तर्गत हामीले मूल बेस सुर्खेतलाई बनाउने र सहायक बेस नेपालगन्जलाई बनाएर आवश्यक जनशक्ति, सामग्री र व्यवस्थापन त्यहाँबाट हुने गरी व्यवस्था गरेका छौँ।”

भूकम्पबाट अहिलेसम्म जाजरकोटमा १०० र रूकुमपश्चिममा ३८ जना गरी १३८ जनाको मृत्यु भएको र जाजरकोटमा ८१ जना रूकुमपश्चिममा ८५ जना गरी १६६ जना घाइते नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले बताए। दैलेख, रोल्पा र जुम्लामा ७ जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र खोजी कार्यका लागि ८५९ जना प्रहरी परिचालन गरिएको जनाएको छ भने आवश्यकताअनुसार थप प्रहरी परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।