कांग्रेसले स्थगित गर्‍यो पूर्वनिर्धारित कार्यक्रम

पार्टीको ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म आयोजना गर्न लागिएका पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ।

काठमाडौँ– नेपाली कांग्रेसले पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। 

महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रमबाहेक अन्य सबै कार्यक्रम स्थगित गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

जाजरकोट र रूकुमपश्चिम लगायतका क्षेत्रमा गएराति आएको विनाशकारी भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौँको संख्यामा नागरिक घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको कांग्रेसले भनेको छ। 

“पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको छ,” पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेसले सबैमा अपिलसमेत गरेको छ। पार्टीको निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु/गराउन पनि नेपाली कांग्रेसले निर्देशन दिएको छ।

शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। प्रहरीका अनुसार भूकम्पका कारण जाजरकोट र रूकुमपश्चिममा शनिबार दिउँसो साढे तीन बजेसम्म १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते छन्। घाइते भएकाहरूलाई उद्धार गरेर जाजरकोट, रुकुम, सुर्खेत, बाँके तथा काठमाडौँका अस्पतालमा उपचार गरिँदै छ।