गभर्नर भन्छन्– देशको अर्थतन्त्र अनिश्चितताको भुमरीमा छ

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने समयमा आन्तरिक तथा बाह्य समस्याले अप्ठ्यारो पार्ने गरेको बताउँछन्।

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र अनिश्चितताको भुमरीमा परेको बताएका छन्।

शनिबार नेपाल आर्थिक पत्रकार संघको १५ औँ वार्षिकोत्सवमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने समयमा आन्तरिक तथा बाह्य समस्याले अप्ठ्यारो पार्ने गरेको बताएका हुन्।

उनले पछिल्लो समय अन्तर्राष्ट्रिय तथा आन्तरिक रूपमा नेपालको अर्थतन्त्रमा अनिश्चितताको भुमरी देखिएको बताए। “मुलुकको अर्थतन्त्र विश्व परिवेशमा हेर्दा केही वर्षदेखि अनिश्चितताको बीचमा भुमरीमा परिरहेका छौँ। एउटा समस्या सकियो फेरि अर्को समस्या आउने गरेको छ,” उनले भने।

उनले नेपालको अर्थतन्त्रमा भूकम्प र कोभिड महामारीले ठूलो असरपछि अन्तर्राष्ट्रिय रूपमा भएका रुस र युक्रेनको युद्ध नरम हुन नपाउँदै अर्को इजरायल र हमासको युद्ध र शुक्रबारको भूकम्पले थप असर पार्ने उल्लेख गरे। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको छ। 

बाह्य क्षेत्र सकारात्मक हुँदा त्यसको फाइदा लिन सक्नुपर्ने बताएका गभर्नर अधिकारीले सप्लाई चेन र बजारमूल्य निर्धारणको कारण मूल्यवृद्धि हुने गरेको सुनाए। अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर छिटो आयोजना टुंग्याउँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

उनले १२.७ महिनाको आयात र १०.३ प्रतिशत आयात र सेवालाई धान्ने क्षमताको विदेशी मुद्रा सञ्चिति रहेको भन्दै अर्थतन्त्रका यस्ता सकारात्मक पक्षलाई बेवास्ता गरेर जान नमिल्ने बताए।