भूकम्प प्रभावित क्षेत्रमा १ करोडको राहत सामग्री लिएर जाँदै एनआरएनए

यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो।

काठमाडाैँ– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जाजरकोट भूकम्पमा परेका पीडित परिवारलाई एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने भएको छ।

एनआरएनए अध्यक्ष डा. वद्रि केसीले भूकम्प प्रभावित जिल्लाका ४०० पीडित परिवारलाई संघले एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्न लागेको बताए। भूकम्पले घरबारविहीन भएका उनीहरूलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्रीसहित अध्यक्ष केसीको नेतृत्वको एक टोली आइतबार (भोलि) प्रभावित क्षेत्रमा जाने भएको छ।

संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस, लगाउने न्यानो कपडा, स्यानिटरी प्याडलगायतका सामग्री वितरण गर्ने राहत अभियानलाई संयोजन गरिरहेका संघका सचिव मनोज गोर्खालीले बताए।

"हामी भोलि नै त्यहाँ पुग्न कोशिश गर्दैछौँ। त्यहाँका पीडित परिवारलाई निरन्तर सहयोग गर्न हामी खटिनेछौँ," उनले भने।

संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषद्हरू तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह समेत गरेको छ। यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा १५७ जनाको मृत्यु भएको छ। यस्तै ३७५ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ।