विकसित देशमा यही स्तरको भुईंचालो आउँदा अलिकतिसम्म पनि क्षति नहुने, तर हामीकहाँ पूरै बर्बाद हुने अवस्था किन आयो भनेर गम्भीर हुन जरुरी छ।
२०७२ सालको भुईंचालोले हामीलाई धेरै कुरा सिकायो, तर त्यसबाट सिकेको पाठ कार्यान्वयन गर्ने सन्दर्भमा हामी चुक्यौँ। हामी मात्रै होइन कि यस्तो विपद्को सन्दर्भमा अन्य शक्तिसम्पन्न मुलुक पनि कमजोर नै हुने गरेका छन्। तर हामीचाहिँ अति कमजोर भयौँ। त्यो भूकम्पपछि झन्डै दश लाख घर भूकम्प थेग्ने गरी नै बनायौँ। अति प्रभावित १६ वटा र बाँकी कम प्रभावित १७ वटा जिल्लामा पुनर्निर्माण प्राधिकरणको सहयोगमा ती घरहरू बनाइए।
जति घर बने, ती ठिक थिए, राम्रा बने, नराम्रा बने, ठूला बने, साना बने, त्यसले हाम्रो चरित्र र संस्कृतिको प्रतिनिधित्व गर्थ्यो या गर्दैनथ्यो, त्यो अलग कुरा हो। तर २०७२ सालपछि भुईंचालोसँग लड्ने नेपाली क्षमता देखिएको हो। हामीले भूकम्पबारे जति कुरा सिकेका थियौँ, उतिखेर भूकम्पबाट सिकेको ज्ञान र भूकम्पले उतिखेर प्रभाव नपारेका जिल्लामा पुर्याउनुपर्थ्यो।
२०७२ सालको भूकम्प गएको ८ वर्ष नाघ्यो, त्यसपछि नेपाल सरकारले कुनै पनि भवन र गोठसमेत भुईंचालो थेग्ने बनाउनुपर्ने निर्णय गर्यो। त्यो निर्णय आफैँमा क्रान्तिकारी हो, तर त्यसको कार्यान्वयन भएन। २०७२ सालको अनुभवबाट सिकेर गर्न सक्ने धेरै कुरा थिए, तर गरेनौँ। त्यसकै नियति हाल भोगिरहेका छौँ हामी। भूकम्पबाट जाजरकोट र रूकुममा अहिले जति भौतिक संरचनाको क्षति भएको छ, त्यसमा २०७२ सालपछि बनेका संरचनासमेत छन्, कमसेकम ती त भूकम्प प्रतिरोधी बनाउन सकिन्थ्यो। सरकारको क्रान्तिकारी घोषणाको कार्यान्वयन भयो कि भएन भनेर सबैले छातीमा हात राखेर आफैँलाई सोध्नुपर्छ।
गलत सूचना
भूकम्पबारे आम मान्छेमा गलत जानकारी पनि फैलिएका छन्। स-साना भूकम्प निरन्तर गइरह्यो भने त्यसले शक्तिशाली भूकम्पको विपत्ति टार्न सक्छन् भन्ने पनि छन्। तर त्यो गलत हो। बरु, एकै ठाउँमा स-साना भूकम्पहरू गइरहँदा भोलि त्यहाँ नै ठूलो भुईंचालो आउँछ कि भन्ने त्रास बढ्छ। त्यस खास ठाउँमा भौगर्भिक क्रियाकलाप भइरहेको छ भन्ने बुझिन्छ।
एउटा अनुभव बाँडौँ। म खिम्ति जलविद्युत् आयोजनाको भौगर्भिक अध्ययनमा सामेल भएँ। त्यसक्रममा त्यहाँको भूगर्भमा चिरा देखिएन, तर त्यहाँ सानो इलाकामा पनि ‘क्लस्टर-क्लस्टर’मा भूकम्पीय गतिविधि देखिए। २०७२ सालमा चाहिँ ठ्याक्कै त्यही ठाउँमा भूकम्प गयो पनि। त्यसैले, आजको भोलि के हुन्छ भनेर त संकेत नदेखिएला, तर कतै भुईंचालो गएको छ भने त्यो ठाउँमा फेरि भुईंचालो जान सक्छ भनेर प्रस्ट बुझियो। अतः भूकम्प टर्दैन, बरु पहिले गएकै ठाउँमा भूकम्प जान्छ कि भनेर सशंकित हुनुपर्छ।
अगाडि छ अर्को महाविपत्ति
भुईंचालोले मान्छेलाई समातेर अँठ्याउने होइन। मान्छेले बनाएका घर, भवन र संरचना पल्टेर, थिचेर मान्छे मार्ने हो। कमसेकम बस्ने या काम गर्ने भवन सुरक्षित बनाउने जिम्मेवारी मान्छेकै हो। राज्यले भवनसम्बन्धी विभिन्न नियम र संहिता बनाउँछ, नेपालमा पनि बनेका छन्। पहिले भवन संहिता केही ठाउँमा मात्रै बाध्यात्मक थियो, २०७२ सालपछि ऐन बनाएरै देशभर अनिवार्य छ। तर त्यसको कार्यान्वयन नभएको माथि नै उल्लेख गरिसकेँ।
मान्छेले पैसा भए पनि घर बनाउँछ, नभए पनि बनाउँछ। आफूसँग जति पैसा छ, त्यही आधारमा बनाउँछ। तर भवन संहिताअनुसार घर बनाए/नबनाएको अनुगमनको अभ्यास छैन, नियमावली छैन। बलियो संरचना बनाउनुको महत्त्व बुझेका स्थानीय तहका केही मेयर, उपमेयर र वडाध्यक्षले आफ्नो तहका नागरिकलाई सम्झाउनसम्म सक्लान्, तर आम जनतालाई भवन संहिताबारे ज्ञान र मतलब हुँदैन।
त्यसो हुँदा 'मेरो घर कमजोर बनाउँदा आखिर मेरै बालबच्चा मर्लान्' भन्ने ठानेर आफैँ चिन्तित हुनुपर्छ। संरचना बलियो बनाउनेलगायत भूकम्पीय पूर्वसुरक्षाको जिम्मेवारी क्रमशः व्यक्ति, समाज र सरकारको हो। चेतनाको अभिवृद्धि, जोखिम न्यूनीकरण, पूर्वतयारी, राहत र उद्धारप्रक्रियालाई केन्द्रबाट स्थानीय तहमा लैजानुपर्छ भन्ने अवधारणा पछिल्लो पटक आएको छ।
समस्या: पुरानै घरमा उपयोग
७२ सालको भुईंचालोपछि सरकारले नागरिकलाई भवन निर्माणका लागि केही रकम सहयोग दियो, तर सरकार आफैँले त्यो सहयोग केका लागि भनेर प्रस्ट पार्न सकेन। राज्यले 'मैले घर बनाउने पैसा दिएको छु' भन्यो, तर जनताले 'तीन लाखले घर बन्दैन, तिमीले दिएको पैसाले बनाएको घर यही हो' भन्दै कैयौँ मान्छे पुरानै घरमा बसे। दिएको पैसा अन्यत्र खर्चसमेत गरे। राज्यले 'सुरक्षित घर बनाउन मैले पैसा दिएको' भनेर नागरिकलाई बुझाउन नसक्नु गल्ती भयो। तीन लाख पाउँदा जनता खुशी त भए, तर घर बनेन। कतिपय नागरिक अहिले पनि सरकारको सहयोगमा बनेको एकतले घर छाडेर चर्केकै घरमा समेत बसेका छन्।
भुईंचालोपछि सरकारले नै घर बनाइदिने अभ्यास अन्यत्र पनि छैन। सरकारले २०७२ सालअघि नेपालमै पनि भूकम्पपछि सहयोग दिएको थिएन। २०४५ सालको भुईंचालोमा तत्कालीन सरकारले ऋणका रूपमा भूकम्प प्रभावितलाई सहयोग दिएको थियो। पछि ऋण मिनाहा भने गरिदियो। त्योभन्दा अघि १९९० सालमा प्रधानमन्त्री जुद्धशमशेरले भूकम्पपीडित जनतालाई ऋण दिए। 'मैले तिम्रो घर बनाउने होइन, तर ऋणका रूपमा सहयोग गर्छु' भने। जनताले २ वर्षभित्र घरसमेत बनाए।
काठमाडौँको बीचमा रहेको 'भूकम्प पार्क', जसलाई गल्तीले अहिले पनि भूगोल पार्क भनिन्छ, त्यसमा आठ वटा शिलालेख छन्, जसमा ९० सालको भूकम्पको बयान गरिएको छ। उतिखेर पेट काटेरै भए पनि मान्छेहरूले घर बनाए। त्यसपछि बिचौलिया नपसून् र जनताले दुःख नपाउन् भनेर जनतासँग गरेको तमसुक जस्ताको तस्तै फिर्ता गर्दा ऋण मिनाहा हुन्छ भन्यो सरकारले। जम्मा भएका सबै तमसुक अहिलेको 'भूगोल पार्क'को जमिनमुनि गाडेर स्तम्भ बनाइयो।
२०७२ सालको भूकम्पपछि कतिपय ठाउँका घर र गाउँ नै कुरूप बनेका छन्। हिमाली भेगसम्म पनि सिमेन्टका घर बनेका छन्। आवश्यक मापदण्ड पूरा भएका छैनन्। माथि नेतृत्वदेखि तल जनतासम्म चेतना तथा वैज्ञानिकताको अभावले यस्तो भएको हो। अलिकति थोरै खर्च गर्दा सुरक्षित र सुन्दर घर बनाउन सकिन्छ भन्ने चेतना सबैमा आवश्यक छ।
नेपालमा झन्डै ८० लाख घर छन्। ती सबै घर सुरक्षित हुनु आवश्यक छ। त्यसका लागि विद्यालयदेखि विश्वविद्यालयसम्म भवन सुरक्षाको शिक्षा दिनुपर्यो। दुःखको कुरा, हाम्रा इन्जिनियरिङ पढाउने कलेजहरूमा समेत देशको भवन संहिताबारे पढाइँदैन। जुन मुलुकले आफ्नो भवन संहिता आफ्नै इन्जिनियरलाई पढाउँदैन, त्यहाँको अवस्था के होला?
उति पुराना तलेजु भवानी मन्दिर र न्यातपोल मन्दिरका संरचना बलियो बनाइएका रहेछन् भन्ने कुरा २०७२ को भूकम्पबाट बुझ्न सकिन्छ। तिनका काठका जोर्नी गजबका रहेछन्। इँटाका घरसमेत गजबका बलिया रहेछन्। तर काठका दुई, तीनतले बलिया घर कसरी बनाउने भन्ने कुरा अहिलेका इन्जिनियरहरूलाई सोध्ने हो भने केही थाहा छैन। यसबारे उनीहरूसँग कुरा गर्दा त्यस्ता घर बनाउनु हुँदैन भनेर पन्छिन्छन्, यसमा पनि हाम्रो दृष्टि पुगेको छैन।
कसरी जोगिने?
सा–साना ज्ञान र जानकारीले भूकम्पको प्रभाव र मृत्युबाट जोगिन सकिन्छ। त्यसका लागि पहिले सबैलाई आफू बस्ने घर कस्तो छ भन्नेबारे थाहा हुनुपर्छ। भुईंचालो आउँदा घरको कुन भागमा बढी सुरक्षित भइन्छ भन्ने कुराको ज्ञान पहिल्यै लिनुपर्छ। घरको संरचना कमजोर छ भने घरबाहिर भाग्नुपर्ला, बलियो छ भने घरकै सुरक्षित ठाउँको आड लिन सकिन्छ। टेबुल बलियो भए टेबुलमुनि लुक्ने र आफूहरूसँग हेलमेट छ भने तत्काल त्यो लगाउनु उचित हुन्छ। हतारमा मैले के निर्णय गर्ने भन्नेबारे पहिल्यै सोच्नुपर्छ। विद्यालय र समाजमा यसबारे बहस चलाउन जरुरी छ।
भुईंचालोपछि छिनमै हजारौँ मान्छेको ज्यान जान सक्छ। 'ट्र्याप'मा परेकाहरूको उद्धार र घाइतेको शीघ्र उपचार मात्रै हुने हो त्यसपछि। २०७२ सालको भूकम्पमा छरछिमेकीले उद्धार गरेका व्यक्ति २२ देखि २४ हजार जना थिए। विदेशबाट आएका ५०/६० वटा उद्धार टोलीले जम्मा ९ जनाको उद्धार गरेछन्। सुरक्षाकर्मीहरूले चाहिँ लगभग ४ हजार जनाको उद्धार गरे। यसको अर्थ जतिसम्म स्थानीय क्षमता अभिवृद्धि गर्न सक्यो, त्यति नै राम्रो हुँदो रहेछ भन्ने पाठ थियो त्यो। त्यसो हुँदा भूकम्पको पूर्वतयारीका लागि पार्टीका कार्यकर्ता पनि परिचालन गर्न सकिन्छ। पार्टीपिच्छे विभिन्न संगठन छन्। तिनीहरूलाई उद्धारबारे प्रशिक्षण र तालिम दिन सकिन्छ।
भुईंचालोलगायत विपत्ति हाम्रा सामाजिक र आर्थिक पक्षसँग पनि जोडिएका छन्। समुदाय र समाज सबै रूपमा सबल भए भुईंचालो केही पनि होइन भन्ने पनि दृष्टान्त छन्। विकसित देशमा यही स्तरको भुईंचालो आउँदा अलिकतिसम्म पनि क्षति नहुने, तर हामीकहाँ पूरै बर्बाद हुने अवस्था किन आयो भनेर गम्भीर हुन जरुरी छ।
अन्य देशका सात–आठ कक्षाका विद्यार्थीले भुईंचालोबारे जान्न पाउने, तर हाम्रा विद्यार्थीले जान्न नपाउने कुरा आफैँमा खिन्नताको विषय हो। बाउआमाले बनाएको घरमा साना नानीबाबु मर्ने कुकर्म हामीले गर्न मिल्दैन। आफ्ना सन्ततिका लागि भए पनि उनीहरूको भविष्य हेरेर घर बनाउने कुरामा ध्यान दिन जरुरी छ। भुईंचालो र प्राकृतिक प्रकोपलाई बुझ्न हामीले विज्ञान बुझ्नुपर्छ। विज्ञानलाई घरघरमा लैजान सकियो भने पनि विपत्ति र प्रकोपबाट धेरै हदसम्म बच्न सकिन्छ।
भूकम्पविद् दीक्षितसँगको कुराकानीमा आधारित।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
