भूकम्पपीडितको सहयोगार्थ जुट्न कार्यकर्तालाई दलहरूको निर्देशन

राजनीतिक दलहरूले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूको सहयोगका लागि जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

काठमाडौँ– राजनीतिक दलहरूले जाजरकोट भूकम्प प्रभावितको सहयोगर्थ जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। शुक्रबार राति जाजकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

शनिबार भूकम्प प्रभावितको राहत तथा सहयोगका लागि जुट्न दलहरूले आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएका हुन्। नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिममा उद्धार र राहतमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ।

एमालेले भूकम्पका कारण जाजरकोट, रूकुमपश्चिमलगायत जिल्ला र त्यस क्षेत्रका विभिन्न भागमा ठूलो मानवीय तथा भौतिक क्षति भएकामा दुःख व्यक्त गर्दै आफ्ना कार्यकर्तालाई उद्धार र राहतमा जुट्न निर्देशन दिएको हो।

एमालेले भूकम्प पीडितको तत्काल उद्धार गरी सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न, पीडितलाई सहयोग गर्न तथा घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेको छ। 

त्यस्तै, नेकपा माओवादी केन्द्रले भूकम्प प्रभावितको उद्धार, राहत र खोजीमा जुट्न समग्र पार्टीपंक्तिलाई आग्रह गरेको छ। पार्टीका महासचिव देव गुरुङले विपद्को यस घडीमा कर्णाली प्रदेशलगायत पार्टीपंक्ति, जनवर्गी संगठनलाई तत्काल उद्धार र राहतमा जुट्न आग्रह गरे। 

भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्तै मर्माहित भएको जनाउँदै उद्धारमा र राहतमा जुट्न महासचिव गुरुङले सबैमा अनुरोध गरेका हुन्। उनले उद्धार कार्यमा जुट्न पार्टी कार्यकर्तालाई पनि निर्देशन दिएका छन्।

विपद्को यस घडीमा घाइतेहरूको खोज तथा उद्धार गरी अविलम्ब उपचारको व्यवस्था मिलाउन, विस्थापितलाई पुनःस्थापनाको व्यवस्था गर्न, खाद्यान्नलगायतका आवश्यक बन्दोवस्तीका सामग्रीहरुको यथाशीघ्र व्यवस्था गर्न सरकारसँग उनले माग गरेका छन्।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले भूकम्प पीडितलाई आर्थिक सहयोग उपलब्ध गराउन कोष स्थापना गरेको छ। पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले देश विदेशमा रहेका पार्टीमा आबद्ध सबै नेता तथा कार्यकर्तालाई कोषमा सहयोग गर्न आग्रह गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले पीडितलाई गाँस, बास, कपास, पुनःस्थापना गरी आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनका साथै आवश्यक स्वास्थ्य उपचारको व्यवस्थापन गर्न सरकारसग माग गरेको छ।

कर्णाली प्रदेशका सबै तहका कमिटीलाई पीडितलाई उद्धार कार्यमा सरकारलाई आवश्यक सहयोग गर्न निर्देशन दिएको बैठकले पार्टीमा संकलन हुने सबै प्रकारका सहयोग तथा राहत व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी प्रदान गरेको छ। नगद तथा जिन्सी सामग्रीको संकलन तथा समन्वयका लागि जीवनराम श्रेष्ठ र केदार सञ्जेललाई जिम्मेवारी तोकेको छ।

गएराति जाजरकोट केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हालसम्म १५६ जनाको ज्यान गएको छ भने ३ सयभन्दा बढीको घाइते भएका छन्।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका अस्पताललाई द्रुत सेवा प्रवाह गर्नेतर्फ सधैँ सचेत रहन निर्देशन दिएको छ। जाजरकोट भूकम्पबाट घाइते भएकाको तत्काल उपचारको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा शनिबार भएको आकस्मिक बैठकले काठमाडौँमा उपत्यकाका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताललाई आवश्यक जनशक्ति व्यवस्थापन गरी प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएको हो। राससको सहयोगमा