भूकम्प अपडेट: रुकुम पश्चिममा उद्धार सकियो, आइतबारदेखि राहत वितरण गरिने

भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो।

तस्वीर: रासस

रुकुम पश्चिम– रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ। 

शुक्रबार राति शुरू भएको खोज तथा उद्धार शनिबार राति सकिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको छ। अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो। आइतबार शव परीक्षणपश्चात परिवारलाई हस्तान्तरण गरिने छ। घाइते भएका १७४ जना उपचारपछि अस्पतालबाट घर फर्केका छन्। 

घाइते २७ जनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगन्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौँ पठाइएको छ। अन्य २६ जनाको भने जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी  हरिप्रसाद पन्तले जानकारी दिए। 

आठबीसकोट नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिका–२ मा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति भएको छ। 

मानवीय क्षति भएको ठाउँको खोजी सकिएकाले आइतबारदेखि राहत सामग्री वितरण गरिने प्रजिअ पन्तले बताए।