धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ घाइते

जिपमा चालकसहित १० जना सवार थिए। घाइतेको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

काठमाडौँ– धनगढीबाट बाजुरा जाँदै गरेको जिप डोटीमा दुर्घटना भएको छ।

आइतबार बिहान भएको दुर्घटनामा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। 

डोटीस्थित तलकोट प्रहरी चौकीका अनुसार केआई सिंह राजमार्गअन्तर्गत शिखर नगरपालिका–६ मा बिहान २:२८ बजे सडकबाट ६० मिटर तल खसेर जिप दुर्घटना भएको हो।

जिपमा चालकसहित १० जना सवार थिए। घाइतेको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा बाजुराको  हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कवीन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालक ८ महिना की छोरी प्रार्थना छन्।

यस्तै, घाइते हुनेमा सोही गाउँका ३० वर्षीया प्रकास बुढाथापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय  दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ।

चालक गौमुल गाउँपालिका–४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।