भूकम्पबारे अध्ययन गर्न विज्ञको टोली जाजरकोटमा

वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी सहितको टोली जाजरकोट पुगेको हो। टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागले जनाएको छ।

काठमाडौँ– जाजरकोटमा शुक्रबार राति  गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी सहितको टोली जाजरकोट पुगेको हो। उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।

“कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे टोलीले अध्ययन गर्नेछ,” उनले भने।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा. अधिकारीका अनुसार जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प हो। पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको छ। 

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ। केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२ः८ बजे ४.५, १२ः२९ बजे ४.२, १२ः३५ बजे ४.३ र शनिबार दिउँसो ३ः४० बजे ४.२ म्याग्निच्युडको पराकम्प गएको छ।

उक्त भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा १५७ व्यक्तिको निधन भइसकेको छ। २०० भन्दा बढी घाइते भएका छन्।