तालिबानको प्रतिबन्धपछि अफगानिस्तानमा अफिम उत्पादनमा ९५ प्रतिशतले गिरावट

सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले अफगानिस्तानमा अवैध लागुऔषध उत्पादन अन्त्य गर्ने वाचा गरेका थिए।

तालिबान अधिकारीहरूले प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा अफिमको उत्पादनमा ९५ प्रतिशतले गिरावट आएको छ। 

सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले अफगानिस्तानमा अवैध लागुऔषध उत्पादन अन्त्य गर्ने वाचा गरेका थिए। सन् २०२२ अप्रिलमा अफिम र हेरोइन बनाइने ‘पप्पी’ बोटको खेतीमा प्रतिबन्ध लगाइएको थियो। 

आइतबार प्रकाशित संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले त्यसयता अफिमको उत्पादनमा भारी मात्रामा गिरावट आएको देखाएको हो। पप्पीको खेती सन् २०२२ को अन्त्यमा दुई लाख ३३ हजार हेक्टरबाट सन् २०२३ मा १० हजार ८०० हेक्टरमा झरेको राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) को प्रतिवेदनमा उल्लेख छ। 

यस अवधिमा अफिमको उत्पादन पनि छ हजार २०० टनबाट घटेर ३३३ टन भएको छ। यो वर्ष २४ टनदेखि ३८ टन हेरोइनको निर्यात हुने अनुमान गरिएको छ। अघिल्लो वर्ष ३५० टनदेखि ५८० टन हेरोइन निर्यात भएको थियो। 

अफगानिस्तानको अफिम अर्थतन्त्रमा अचानक कमीका कारण सम्भावित ‘धेरै कमजोर ग्रामीण समुदायका लागि मानवीय नतिजा’ को चेतावनी दिँदै यूएनओडीसीले यसको उत्पादनमा प्रतिबन्ध लगाइँदा उत्पादकले अत्यन्त कम आकर्षक वैकल्पिक बालीतिर फर्कनुपरेको जनाएको छ।

सन् २०२२ मा किसानहरूको आम्दानी एक अर्ब ३६ करोड अमेरिकी डलर हुने अनुमान छ। यो यस वर्ष ९२ प्रतिशतले घटेर ११ करोड डलर भएको छ। यो घाटाले अफगानिस्तानको पहिले नै संघर्षरत अर्थतन्त्रमा अत्यधिक असर पर्ने आशंका गरिएको छ। गत वर्ष विश्वको अग्रणी उत्पादक अफगानिस्तानमा कूल कृषि उत्पादनको मूल्यमा पप्पी बालीको योगदान करिब एक तिहाइ थियो। 

“आज अफगानिस्तानका मानिसलाई गुमेको आम्दानीको आघातको सामना गर्न र जीवन बचाउन तत्काल मानवीय सहयोगको आवश्यकता छ,” यूएनओडीसीका कार्यकारी निर्देशक घाडा वेलीले भने, “अन्य सबै उत्पादन कपास, गहुँका लागि धेरै पानी चाहिन्छ तर अफगानिस्तानले लगातार तीन वर्षदेखि खडेरीको सामना गरिरहेको छ।”