चेम्बरले भूकम्प प्रभावितलाई खाद्यान्नलगायतका सामग्री सहयोग गर्ने

चेम्बरको विपद् व्यवस्थापन कोषअन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए।

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले जाजरकोट केन्द्रबिन्दु बनाइ गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित बनेका स्थानीयलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडालगायत अत्यावश्यक सामग्री सहयोग गर्ने भएको छ।

चेम्बरको विपद् व्यवस्थापन कोषअन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए। उनका अनुसार चेम्बरले आवश्यक सम्पूर्ण सामग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्समार्फत सरकारको एकद्वार प्रणालीमा सहयोग गरिने छ।

भूकम्पबाट अति प्रभावित जाजरकोट, रूकुमपश्चिम क्षेत्रका पीडितलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडालगायत सिरक डसना र म्याट्रेस सहयोग गर्न लागिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सरकारी संयन्त्रसँग समन्वय गरेर नै सहयोग सामग्री वितरण गरिने अध्यक्ष मल्लको भनाइ छ। चेम्बरले जाजरकोटलगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुनर्स्थापनाका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह गरेको छ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकुमपश्चिममा १५७ जनाको मृत्यु भएको थियो भने ३ सयभन्दा बढी घाइते भएका थिए।