घाइतेको उपचार, राहत र पुनर्स्थापना सरकारको उच्च प्राथमिकतामा : रक्षामन्त्री

रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पबाट घाइते भएकाहरूको उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ– उपप्रधानमन्त्री एव रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

जाजरकोटको नलगाड नगरपालिकामा भूकम्पले ज्यान गुमाएकाहरूका लागि श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एक दिनमै घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आइतबारदेखि राहत वितरण शुरू गरिएको बताए। 

“दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्ने गरी राहत सामग्री पठाएका छौँ, थप केही आउने क्रम जारी छ,” उनले भने, “जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, सोही गतिमा राहत पनि वितरण गर्छौं।” 

मन्त्री खड्काले राहत वितरणलगत्तै पुनर्निर्माणको काममा शुरू हुने जानकारी दिए। उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगन्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता जनाए। 

रक्षामन्त्री खड्काले भूकम्पमा ज्यान गुमाएका नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। भूकम्प गएको समयमा उपप्रमुख सिंह सदरमुकाम खलंगा भए पनि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई नलगाड ल्याइएको थियो।

नलगाड नगरपालिका वडा नं ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपप्रमुख सिंहको निधनबाट पालिकालाई ठूलो क्षति पुगेको बताए। “पालिकाको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति गुमाउँदा ठूलो पीडा भएको छ,” उनले भने। अध्यक्ष पन्तका अनुसार भूकम्पमा परी मृत्यु भएका पालिकाका ५५ जनाकै दाहसंस्कार भइसकेको छ।

सो अवसरमा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायतको उपस्थिति थियो।

गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपमेयर सिंहसहित ५५ जनाको ज्यान गएको थियो। भूकम्पका कारण जाजरकोट र रूकुमपश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको  छ।