भूकम्प प्रभावितका लागि सहयोग जारी : भारतले हस्तान्तरण गर्‍यो १६ करोडका राहत सामग्री

भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ।

काठमाडौँ– भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ।

जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरूप १६ करोड बराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगन्ज विमानस्थलमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ।

भारतीय वायुसेनाको विशेष विमानले ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री मन्त्री खड्कालाई हस्तान्तरण गरिएको हो। हस्तान्तरित सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन्।

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा मन्त्री खड्कालाई हस्तान्तरण गरे।

आगामी दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने दूतावासले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। छिमेकीका नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकालाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाइएको छ।

आइएमई ग्रुपको एक करोड पचास लाख प्रदान गर्ने
ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आईएमई ग्रुपबाट प्रवर्दित कम्पनी तथा आईएमई फाउन्डेसनमार्फत भूकम्पपीडितका लागि एक करोड ५० लाख रुपैयाँ नगद सहयोग प्रदान गरिने भएको छ।

जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने समूहले आज एक प्रेस विज्ञप्ति निकालेर जनाएको छ।

राप्रपाले २५ लाख दिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको तर्फबाट २५ रुपैयाँ लाख र पार्टीका संघीय सांसद र प्रदेशसभा सदस्यको एक महिनाबराबरको तलब प्रधानमन्त्री राहत कोषमा प्रदान गर्ने निर्णय गरेको हो।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा पार्टीका तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीको संयोजकत्वमा र रुकुम पश्चिमका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णयसमेत गरेको छ।

गोदावरी नगरपालिकाले भूकम्पपीडितलाई २५ लाख दिने
गोदावरी नगरपालिकाले भूकम्पपीडितलाई २५ लाख दिने निर्णय गरेको छ। नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि विपद् व्यवस्थापन कोषबाट २५ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए।

भूकम्पपछि जाजरकोट र रूकुमपश्चिमलगायतका प्रभावित क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति तथा सयौँ संख्यामा घाइते भएकोप्रति दुःख प्रकट गर्दै उनले भने, “विपद्को समयमा सबै एक भएर विपद्को सामना गर्नुपर्छ।”

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको ६.५ म्याग्निच्युडको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा ठूलो जनधनको क्षति भएको छ। भूकम्पका कारण १५७ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइतेको उपचार जारी रहेको गृह मन्त्रालय जनाएको छ। राससको सहयोगमा