जाजरकोट भूकम्पबाट १२ स्वास्थ्य संस्थामा क्षति, सेवा प्रवाहमा समस्या नरहेको मन्त्रालयको भनाइ

स्वास्थ्य मन्त्रालयले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट १२ वटा स्वास्थ्य संस्थामा क्षति भए तापनि स्वास्थ्य सेवा प्रवाहमा समस्या नभएको जनाएको छ।

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट १२ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको जनाएको छ। मन्त्रालयका अनुसार जाजरकोट र रूकुमपश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको हो। ती स्वास्थ्य संस्थाहरू अंशिकदेखि पूर्ण क्षति भए तापनि स्वास्थ्य सेवा प्रवाहमा समस्या नभएको मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।

“धेरै घाइते उपचारपश्चात् घर फर्केका छन्। उपचारका लागि अन्यत्र सिफारिस गरिएकाहरूको प्रादेशिक अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगन्ज र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचारको व्यवस्था गरिएको छ,” विज्ञप्तिमा भनिएको छ। रिफर गरिएका घाइतेमध्ये २९ जनाको प्रादेशिक अस्पताल सुर्खेतमा, ३१ जनाको भेरी अस्पताल नेपालगन्जमा र आठ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विभागद्वारा औषधि तथा औषधिजन्य सामग्री पठाइएको जनाएको छ। स्वास्थ्य क्षेत्रको प्रभावकारी प्रतिकार्यका लागि संघीय, प्रादेशिक र स्थानीय तहसँग समन्वय गरिरहेको र सहयोग आवश्यक परेको खण्डमा मन्त्रालय तत्पर रहेको उनले जनाए।

शुक्रबार राति जारकोटको बारेकोट केन्द्रबिन्दु भई ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट, रूकुमपश्चिम आसपासका क्षेत्रमा ठूलो जनधन क्षति भएको छ। भूकम्पबाट १५७ जनाको मृत्यु भएको छ भने अन्य २५६ जना घाइते अवस्थामा छन्। ज्यान गुमाउने तथा घाइते जाजरकोट, रूकुम पश्चिम, रूकुम पूर्व, सल्ल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठानका रहेको मन्त्रालयले उल्लेख गरेको छ।