अमेरिका भ्रमण फलदायी भएको परराष्ट्रमन्त्रीको दाबी

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतका परियोजना समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको उनको भनाइ थियो।

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण फलदायी भएको बताएका छन्।

अमेरिका भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री साउदले आफ्नो भ्रमण नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सफल भएको बताए।

“यो भ्रमणबाट नेपाल र अमेरिकाबीचको आपसी मैत्री, समझदारी र सहयोगमा अभिवृद्धि भई द्विपक्षीय सम्वन्ध अझ सुदृढ भएको छ। अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनसँगको भेटवार्तामा दुवै पक्षबीच सहकार्यलाई घनीभूत बनाउने प्रतिबद्धता व्यक्त भएको छ,” मन्त्री साउदले भने।

अल्पविकसित मुलुकबाट स्तरोन्नतिको प्रक्रियामा रहेकाले नेपालको विकासका प्राथमिकतामा वैदेशिक सहयोग महत्त्पूर्ण हुने चर्चा गर्दै परराष्ट्रमन्त्री साउदले नेपाललाई सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी र व्यापारलगायत क्षेत्रहरूमा अमेरिकी सरकारबाट सहयोग बढाउन आग्रह गरेको जानकारी दिए। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतका परियोजना समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको उनको भनाइ थियो।

आफूले अमेरिकी विदेशमन्त्री ब्लिंकेनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा गरेको मन्त्री साउदले जानकारी दिए। उनी यही कात्तिक १२ गते काठमाडौँबाट अमेरिका गएका थिए।

भ्रमणका क्रममा मन्त्री साउदले यूएसएआईडीका प्रशासक समन्था पावर, सिनेटर क्रिस भान होलान तथा यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरसनका प्रमुख कार्यकारी अधिकृत स्कोट नाथनसँग छुट्टाछुट्टै भेटवार्ता गरे। त्यसैगरी त्याँहास्थित नेपाली दूतावासमा एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट, अमेरिकी विदेश मन्त्रालयकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जेया, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ डाइरेक्टर आइलीन लाउवाकरसँग पनि छुट्टाछुट्टै भेटवार्ता भएको थियो।