भूकम्पपीडितलाई बागलुङका स्थानीय तहद्वारा ३० लाख र घोराही उपमहानगरद्वारा १५ लाख सहयोग

जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्न पालिकाहरू अघि सरेका छन्। यहीबीच बर्दियाको बारबर्दिया नगरपालिकाले पनि पाँच लाख २५ हजार रुपैयाँ छुट्याएको छ।

काठमाडाैँ– शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ। यसक्रममा भूकम्पपीडितलाई आर्थिक सहयोग गर्न पालिकाहरू अघि सरेका छन्। 

बागलुङका दश स्थानीय तहले एकमुस्ट ३० लाख राहत रकम प्रदान गर्ने भएका छन्। चार नगरपालिकाले तीन लाख ७५ हजार रुपैयाँ र छ गाउँपालिकाले दुई लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बागलुङ जिल्लाका स्थानीय तहले प्रदान गर्ने नगद, उद्योग वाणिज्य संघ बागलुङ, जिल्ला रेडक्रस सोसाइटी बागलुङ, रोटरी क्लब अफ बागलुङ र अन्य संघ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको बताउनुभयो। भूकम्प पीडितका लागि आवश्यक लत्ताकपडा बागलुङ उद्योग वाणिज्य संघमार्फत कपडा तथा फ्रेन्सी व्यवसायी समितिद्वारा संकलन गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।

दाङको घोराही उपमहानगरपालिकाले पनि भूकम्प पीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो।

बर्दियाको बारबर्दिया नगरपालिकाले पनि भूकम्प प्रभावितका लागि पाँच लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। आइतबार बसेको कार्यपालिकाको बैठकले दैवी प्रकोप व्यवस्थान कोषबाट पाँच लाख २५ हजार रुपैयाँ दिने निर्णय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईले बताए।