अन्तर्राष्ट्रिय उद्योगी व्यापारीलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा शुरू भएको सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानीको लागि आग्रह गरेका हुन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन्। एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७औँ क्यासी सम्मेलनको सोमबार काठमाडाैँमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन्।

“नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको धारणा व्यक्त गरे।

“नेपाली विद्युत्को बजार अब भारत र बांग्लादेश पनि बन्दैछ, विद्युत् व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युत‍्मा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खुलेको छ। म नेपालको जलविद्युत‍्को क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु”, उनले भने।

उनले साना र मझौला उद्यम नेपाली अर्थतन्त्रको मेरुदण्ड भएको धारणा पनि राखे। “आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला पनि हो। साना र मझौला उद्यम अर्थतन्त्रका मेरुदण्ड हुन्। तिनीहरूले  वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्”, उनले भने।