राफेल मार्केज : जसले प्रायोजकको जर्सी लगाउन पाएनन्

मेक्सिकोका पूर्व डिफेन्डर राफेल मार्केजले रसिया विश्वकपमा जर्मनीविरूद्ध मैदान उत्रिँदै पाँचौँ विश्वकप खेलेर इतिहास बनाए। तर, लागुऔषध कारोबारीसँगको सम्बन्धका कारण उनले त्यसकाे खुसी मनाउन पाएनन्।

काठमाडौँ– फुटबलमा उदाउँदै गरेका खेलाडीको प्रेरणाका स्रोत हुन्, मेक्सिकोका पूर्वसेन्टर ब्याक डिफेन्डर राफेल मार्केज। तर, पनि धेरै अन्तर्राष्ट्रिय ब्रान्डका लागि यो नाम रसियामा विश्वकपमा एक दुःस्वप्न बन्यो।

मार्केजले ३९ वर्षको उमेरमा जर्मनीविरूद्ध अन्तिम १५ मिनेटमा मैदान छिर्दै आफ्नो पाँचौँ विश्वकप खेलेर इतिहास बनाएका थिए। उनको नाम इटलीका गोलरक्षक जियानलुइगी बुफोन, जर्मनीका मिडफिल्डर लोथर हर्बर्ट म्याथस र मेक्सिकोका गोलरक्षक एन्टोनियो कार्बाजलसँगै पाँच विश्वकप खेल्ने खेलाडीको सूचीमा समावेश भएको थियो। 

वास्तवमा यो ऐतिहासिक उपलब्धि नै थियो। तर, यी खेलाडीले मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि ऐतिहासिक उपलब्धिको खुलेर सेलिब्रेसन गर्न पाएनन्। यसको कारण हो, लागुऔषध कारोबारीसँगको सम्बन्ध। 

रसिया विश्वकपभन्दा एक वर्षअघिदेखि नै मार्केजलाई अमेरिकी ट्रेजरी डिपार्टमेन्टले मेक्सिकोका लागुऔषध कारोबारीहरू राउल फ्लोरेस हर्नान्डेज, सिनालोआ र जलिस्को कार्टेलसँग सम्बन्ध रहेको भन्दै कालो सूचीमा राखेको थियो। यद्यपि, मार्केजले आफूमाथि लाग्दै आएको आरोप अस्वीकार गर्दै आएका थिए।

तर, अमेरिकामा रहेको सबै सम्पत्ति र अमेरिकी कम्पनीसँग सम्बन्ध रहेको मेक्सिकोको सम्पत्तिसमेत रोक्का गरिएको थियो। कालो सूचीमा परेपछि उनले अन्तर्राष्ट्रिय फुटबल पनि खेल्न पाएका थिएनन्। करिअरको सुखद् अन्त्य गर्ने योजनाका साथ रसिया उत्रिन लागेका मार्केजलाई निकै झमेला बेहोर्नुपर्‍यो। उनी मेक्सिकोको राष्ट्रिय टोलीमा अटाउन त सफल भए तर थुप्रै सर्तको सामना गर्नुपर्‍यो।

अमेरिकी सरकारले विश्वकपमा प्रायोजन गरेको कुनै सामग्री प्रयोग गर्न नदिने उर्दी नै जारी गर्‍यो। यसको असर मैदानभित्रसम्म नै रह्यो। उनले विश्वकपलाई प्रायोजन गरेका अमेरिकी कम्पनीका कुनै ‘ब्रान्ड’का  सामान प्रयोग गर्न पाएनन्। अन्य खेलाडीसँग प्रशिक्षण गरिरहँदा खिचिएको फोटो र भिडियोमा कोकाकोलाको विज्ञापनलाई ब्लर गर्न लगाइयो।

उनलाई कोकाकोलाको टिसर्ट लगाएर मैदानमा अभ्यास गर्न पनि रोक लगाइयो। ‘डिहाइर्डेसन’ बाट जोगिन कोकाकोला कम्पनीले उत्पादन गरेको ‘आइसोटोनिक ड्रिंक’ पिउन पनि पाएनन् उनले। न्यूयोर्क टाइम्सका अनुसार खेलपछि उनको अन्तर्वार्ता त लिइयो तर, अमेरिकी कम्पनीहरूको लोगो भएका बोर्डहरू छोपिएको थियो।  

अमेरिकाले मात्रै होइन। उनलाई रसिया विश्वकपमा इरानले पनि बहिष्कार गरेको थियो। तर, एथलेटिक जुत्ता र पहिरन आपूर्तिमा अग्रस्थानमा रहेको अमेरिकी कम्पनी नाइकीले भने यसको खुलेरै विरोध गरेको थियो। "देशका लागि खेल्ने टोलीका खेलाडीलाई फुटबल बुट आपूर्ति बन्द गर्न भन्नु मुर्खता हो", नाइकीले भनेको थियो।

जर्मनीविरूद्ध १५ मिनेट मैदानमा उभिदा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। तर, उनले त्यो खेलमा मात्र होइन, बाँकीमा पनि उत्कृष्ट खेलाडीको अवार्ड पाउन सकेनन्। मार्केजले पहिलो पटक २००२ मा कोरिया र जापानमा आयोजना भएको विश्वकप खेलेका थिए। उक्त विश्वपकमा मेक्सिको राउन्ड अफ १६ बाट अगाडि बढ्न सकेन।

१० खेलाडीमा समेटिएको मेक्सिको अमेरिकासँग २–० ले पराजित हुन पुग्यो। त्यसपछि २००६ मा जर्मनीमा आयोजना भएको विश्वकपको राउन्ड अफ १६ मा अर्जेन्टिनाविरूद्धको खेलको छैटौँ मिनेटमा उनले गोल गरेका थिए। यो नै उनको पहिलो विश्वकप गोल थियो। तर, उक्त अग्रतालाई जोगाउन नसक्दा मेक्सिको खेलमा २–१ को पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको थियो। चार वर्षपछि दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकपमा पनि उनले सहभागिता जनाउने अवसर प्राप्त गरे।

उनले आफ्नो तेस्रो विश्वकपमा पनि गोल गरे। आयोजकविरूद्ध भएको खेलमा उनले ७९औँ मिनेटमा गोल गर्दै मेक्सिकोलाई हारबाट जोगाएका थिए। समूह ए मा रहेको मेक्सिकोले उक्त प्रतियोगिताको दोस्रो खेलमा उरूग्वेसँग १–० ले स्तब्ध बनेको थियो। तर, तेस्रो तथा अन्तिम खेलमा फ्रान्सलाई २–० ले हराउँदै राउन्ड अफ १६ मा स्थान बनाएको थियो।

पुनः अर्जेन्टिनासँग भएको भेटमा ३–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। उनले २०१४ मा ब्राजिल र २०१८ मा रसियामा आयोजना भएको विश्वकपमा आफ्नो टोलीको नेतृत्व गरे। तर, मेक्सिकोलाई राउन्डअफ १६ बाट भने अगाडी बढाउन सकेनन्। करिब एक दर्शक राष्ट्रिय टोलीमा बिताएका मार्केजले १९ वटा ठूला प्रतियोगिता खेले। बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दा चार लिग उपाधि र दुई च्याम्पियन्स लिग जिते।

अहिले बार्सिलोनाको ‘बी’ टोली सम्हालिरहेका मार्केज सन् २०१८ मा अमेरिकी सरकारले गरेको व्यवहार भुल्न नसकेको बताउँछन्। “सबै खेलाडीले मैदानमा हात हल्लाउँदै विदा लिने सपना बुनेका हुन्छन्। त्यो प्रतियोगितामा मेरो पनि हात हल्लाउँदै समर्थकमाझ विदा लिने चाहना थियो। तर, अमेरिकी सरकारका कारण पूरा भएन। त्यो घटनाले मेरो खेल करिअरमै दाग लगाइदियो”, अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएपछि उनले एक अन्तर्वार्तामा भनेका थिए।