आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च

आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई २५ हजारका दरले किरियाखर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए।

रुकुम पश्चिम– रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहतसँगै मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराएको छ।

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री तथा मृतकका परिवारलाई  किरियाखर्च उपलब्ध गराइएको हो। आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई २५ हजारका दरले किरियाखर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए।

उनका अनुसार अन्य ५६ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ। सोअन्तरगत चामल, दाल, नून, तेल, चाउचाउ, बिस्कुटलगायत बस्नका लागि पीडित परिवारलाई त्रिपाल उपलब्ध गराइएको छ। मृत्य भएका पाँच परिवारलाई आइतबार राहतसँगै किरियाखर्च उपलब्ध गराइएको हो।

बाँकी मृतकका परिवारलाई आज प्रभावित क्षेत्रमा पुगेर राहतसँगै किरिया खर्च दिइने नगर प्रमुख केसीले जानकारी दिए। मृतकका परिवारको संख्या आठबीसकोटमा २४ रहेको छ। बाँकी १९ घरपरिवारलाई राहत सामग्री वितरण गरिए पनि किरियाखर्च दिन बाँकी रहेको उनले जानकारी दिए। आइतबारबाट शुरू गरिएको राहत वितरण कार्यक्रम जारी छ। नगरपालिकालाई विभिन्न ठाउँबाट संघसंस्थाबाट राहत सामग्री आउने क्रम जारी रहेको नगरपालिकाको जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए।

उनका अनुसार नगरपालिकालाई प्राप्त भएको राहत सागग्री प्राप्त गरेर प्रभावित क्षेत्रमा पठाउने गरिएको छ। राहत वितरणका लागि कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसी, जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतम लगायतको समूहले आठबीसकोटको भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरिहेको छ। भूकम्पले जिल्लाको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मानवीय क्षतिसँगै भौतिक संरचना ठूलो क्षति पुर्‍याएको छ।