साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी दिने, उपभोक्ता मूल्य प्रतिकेजी ११५ रुपैयाँ

खुद्रा व्यापारी तथा व्यवसायीले सोमबारदेखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र मंलबारदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउने छन्। 

काठमाडौँ– साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा खुद्रा व्यापारीले बिक्री वितरणका लागि साल्ट टेडिङबाट १० बोरासम्म चिनी किन्न पाउने भएका हुन्।

खुद्रा व्यापारी तथा व्यवसायीले सोमबारदेखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र मंलबारदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउने छन्। यो चिनी प्रतिकिलो ११५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन्। व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङमार्फत किन्ने प्रबन्ध गरेको थियो।

यसका साथै अवैध रूपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लाका सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले राजधानी काठमाडौँका विभिन्न स्थानमा अवैध रूपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो।

उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना आउटलेट, खुद्रा विक्रेता संघअन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरे पनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था आएको थियो।