एकीकृत समाजवादीले भूकम्प प्रभावितका लागि २५ लाख दिने, राहत अनुगमन कार्यदल गठन

एकीकृत समाजवादीले भूकम्प प्रभावितका लागि पार्टीका कार्यकर्ताहरूबाट संकलन गरेर सरकारको कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने भएको छ।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले जाजरकोट र पश्चिमरूकुमका भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। सोमबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठकले गत शुक्रबार राति जाजरकोट र पश्चिमरूकुममा गएको भूकम्पबाट प्रभावितहरूलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टीका कार्यकर्ताहरूबाट संकलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिए। त्यसका लागि पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि एवं राजनीतिक नियुक्तिमा गएका व्यक्तिहरूबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उनले बताए।

पार्टीले भूकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनर्स्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि कार्यदल पनि गठन गरेको छ। प्रवक्ता खतिवडाका अनुसार सो कार्यदलको संयोजक पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला छन्। सदस्यहरूमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिमरूकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरू छन्।

त्यसैगरी बैठकले पार्टीले असोज १४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ। प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको बिस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको बताए। उनले सो अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट शुरू हुन्छ भन्ने कुरालाई स्थापित गरेको धारणा राखे।

बैठकले पार्टीको महाधिवेशन माघ महिनामा काठमाडौँमा गर्ने तय गरेको छ। मंगलबार पार्टी अध्यक्ष माधवकुमार नेपालसहित १५ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने भएका छन्।