राजस्व हिनामिनाको अभियोगमा पर्सा मालपोतका अधिकृतसहित १० जनाविरुद्ध मुद्दा

अख्तियारले राजस्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ। आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध दुई करोड नौ लाख ३१ हजार ६४७ बिगो दाबी गरेको छ।

यस्तै, मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार १४५, मालपोत अधिकृत गोपालबहादुर ढुंगानाविरुद्ध ३५ लाख ४५ हजार ९५०, मालपोत अधिकृत पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार ६०० बराबरको बिगो र कैदको माग दाबी गरेको छ।

यस्तै, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध दुई लाख ४४ हजार ४६२, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ हजार १७१, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध पाँच करोड ५५ लाख १९ हजार ९७५ बराबरको बिगो र कैद दाबी गरिएको आयोगले जनाएको छ। आरोपी सबैलाई कारबाहीको माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।