भाइटीकाको शुभसाइत कात्तिक २९ गते बिहान १०ः५१ बजे

कात्तिक २९ गते परेको भाइटीकाको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० को भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ। समितिले जारी गरेको विज्ञप्तिअनुसार कात्तिक २९ गते परेको भाइटीकाको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ।

यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएर मनपर्ने परिकार ख्वाउने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीहरूलाई आफ्नो क्षमताअनुसार दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ।

समितिका अनुसार कात्तिक २४ गते शुक्रबारका दिन यमदीपदान अर्थात् धनत्रयोदशी (धन्तेरस) रहेको छ। यो दिन सुनचाँदीजस्ता धातुका वस्तु खरिद गर्नु उत्तम हुने जनविश्वास रहेको छ।

कात्तिक २५ गते काग तिहार परेको छ। २६ गते कुकुर तिहारसँगै साँझ लक्ष्मीपूजा रहेको छ। लक्ष्मीपूजाको दिनदेखि घर–घरमा देउसी भैलो खेल्न थालिने प्रचलन छ। यस दिन घरमा लक्ष्मीको वास होस् भन्दै धन सम्पत्तिको पूजा गर्ने पनि गरिन्छ। लक्ष्मीको आगमनका लागि दियो बालेर घरलाई झिलिमिली पार्ने गरिन्छ। 

यसैगरी, कात्तिक २७ गते सोमबार गाई तिहार रहेको छ। २८ गते गोवर्द्धन पूजाका साथै म्हपूजा परेको छ भने सोही दिनबाट नेपाल संवत् ११४४ प्रारम्भ हुनेछ।