गाँजाखेती सम्भाव्यता अध्ययन गर्न सरकारले बनायो कार्यदल

कार्यदललाई काम शुरू गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा. महतले निर्देशन दिए।

काठमाडौँ– सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानून, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो। 

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजाखेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए। आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यको १०५ नम्बर बुँदामा भनिएको छ– “औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ।”

यो कार्यदललाई अध्ययनका लागि दुई वटा म्यान्डेट दिइएको छ। गाँजालाई औषधिका रूपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगीकरणको सम्भाव्य अनुसन्धान गर्नेछ। गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ। कार्यदललाई काम शुरू गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा. महतले निर्देशन दिए।