सरकारले भूकम्पले पुर्याएको भौतिक क्षतिको सूक्ष्म अध्ययन गर्न १० जना विज्ञको टोली जाजरकोट र रूकुमपश्चिमतर्फ पठाएको छ।
काठमाडौँ– सरकारले भूकम्पका कारण हुन पुगेको भौतिक क्षतिको स्थलगत अध्ययन/अनुसन्धानका लागि विज्ञहरूको टोली जाजरकोट र रूकुमपश्चिममा खटाएको छ।
शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय कार्ययोजना इकाईका सिनियर डिभिजनल इन्जिनियर लीला खतिवडाको नेतृत्वमा १० जना विज्ञहरूको टोली सोमबार भूकम्प प्रभावित क्षेत्रतर्फ गएको हो।
इकाईका ६ जना, इन्जिनियरिङ एसोसिएसन र पुल्चोक इन्जिनियरिङ क्याम्पबाट दुई/दुई जना गरी १० जना विज्ञको टोलीलाई भूकम्प प्रभावित क्षेत्रतर्फ खटाएको शहरी विकास मन्त्रालयका प्राविधिक सहसचिव दिलीप भण्डारीले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा शहरी विकास मन्त्रालयले यो टोलीलाई बढीमा तीन दिनभित्र जाजरकोट र रूकुमपश्चिममा भूकम्पले पुर्याएको क्षतिबारे सूक्ष्म अध्ययन तथा अनुसन्धान गरेर प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको हो।
टोलीले तयार पारेको अध्ययन प्रतिवेदनका आधारमा भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कस्तो मोडल अपनाउने भन्ने निष्कर्ष निकाल्न सरकारलाई सहज हुने भण्डारीले बताए।
“यसअघि भूकम्प जाँदा हामीले पुनर्निर्माण गर्दा अनेक झमेला आए। पुनर्निर्माण कार्य अघि बढाउनु पहिल्यै गहन अध्ययन/अनुसन्धान हुनु राम्रो हो। त्यसैले मन्त्रालयले अध्ययनका लागि एउटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको हो,” उनले भने।
आइतबारको मन्त्रिपरिषद् बैठकले पुनः निर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् बैठकपछि भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औँ बैठकमा प्रधानमन्त्री दाहालले जाजरकोट र रूकुमपश्चिममा भूकम्पले पुर्याएको क्षतिलाई मध्यनजर गर्दै सावधानीका निमित्त भूगोलको अध्ययनका आधारमा आगामी दिनमा बस्ती विकास गर्ने व्यवस्था मिलाउने बताएका थिए।
यस्तै प्रधानमन्त्री दाहालले क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणलाई एकीकृत कार्ययोजना बनाइ अघि बढ्ने पनि बताएका थिए।
शुक्रबार राति ६.४ रेक्टरको भूकम्प जाँदा जाजरकोट र रूकुमपश्चिममा १५३ जनाको मृत्यु भएको छ भने ३४० जना घाइते भएका थिए। घाइतेमध्ये ९४ जनाको देशका विभिन्न अस्पतालमा उपचार जारी रहेको र अन्य उपचारपछि घर फर्किएको गृह मन्त्रालयले जनाएको छ।
भूकम्पका कारण जाजरकोटमा निजी आवास, विद्यालय, स्वास्थ्य चौकीलगायत गरी ९१० भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त बनेको प्रहरीको विवरण छ। रूकुमपश्चिममा भने १६ हजार भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर सोमबार पुनः शक्तिशाली परकम्प जाँदा केही घरहरू भत्किएको र केही स्थानीय घाइते भएको प्रहरीले जनाएको छ। परकम्पले पुर्याएको क्षतिको यकिन विवरण आइसकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
