भूकम्पका कारण छेपारे टोलका ३९ वटै घर बस्न नमिल्ने गरी क्षतिग्रस्त बनेका छन्। स्थानीयले चिसो मौसमका कारण बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति समस्या परेको बताएका छन्।
आठबिसकोट (रूकुमपश्चिम)– शुक्रबारको रात चकमन्न अँध्यारोमा आठबिसकोट–१४ को छेपारे गाउँ शान्त थियो। अधिकांश गाउँले गहिरो निद्रामा थिए। सधैँ छिट्टै सुत्ने मीना विक भने त्यस राति श्रीमानसँग मोबाइलमा फिल्म हेर्दै थिइन्। कान्छो छोरा साथमै सुतेका थिए भने ठूलो छोरो पल्लो कोठामा निदाइसकेका थिए।
“त्यत्तिकैमा अकस्मात् घर हल्लियो। के भयो भन्ने थाहा नपाउँदै ठूलो आवाज आयो। छिनभरमै घर भत्कियो,” मीनाले सुनाइन्, “क्षणभरमै चारै जना घरभित्रै पुरियौँ।” मीनाको टाउको दलिन मुनी परेकाले टाउकोमा चोट लाग्न पाएन। तर कान्छो छोरो र श्रीमान् भने बेहोस अवस्थामा भेटिए।
“टाउकोमा चोट नलागेकाले मैले गुहार माग्न सके, जेठाजु आएर मलाई बचाउनुभयो। त्यसपछि दुई छोरा र श्रीमानलाई पुरिएको ठाउँबाट उद्धार गर्नुभयो,” भूकम्प जाँदाको अनुभव सुनाउँदै मीनाले भनिन्, “जेठो छोरालाई खासै केही नभए पनि कान्छो छोरा र श्रीमान् भने उद्धार गर्दा अचेत अवस्थामा हुनुहुन्थ्यो।”
उद्धार गरिएको दुई घण्टापछि मात्रै छोरो र श्रीमानको होस् खुल्न दुई घण्टा लाग्यो। त्यसपछि उनीहरू दुवैलाई अस्पताल पठाएको र उपचारपछि स्वास्थ्य अवस्था सामान्य बनेको उनको भनाइ छ।
“त्यो हाम्रो मात्रै समस्या थिएन, भूकम्पले गाउँका सबै घरमा क्षति पुर्याएको थियो,” उनले भनिन्, “त्यसलगत्तै प्रहरीलाई बोलाएर उद्धार शुरू गर्यौँ।”
भूकम्पमा जोगिए पनि यतिबेला आफू घरविहीन भएको भन्दै बस्नका लागि समस्या भएको उनले दुखेसो पोखिनन्। गाउँले सबै खुला चौरमा बस्न बाध्य भएको भन्दै उनले आफूहरूका लागि राहत सामग्री आएको जानकारी पाए भने अहिलेसम्म नपाएको गुनासो गरिन्।
आठबिसकोट–१४ का पहलबहादुर विकको पीडा पनि मीनाको जस्तै छ। “हामी त भाग्यले बाच्यौँ, गाउँका केही भाइबहिनीलाई जोगाउन भने सकेनौँ,” पहलबहादुरले पीडा सुनाए, “धेरैलाई ज्यूँदै उद्धार गर्न भने सक्यौँ।” उनका अनुसार रातिको समय भएकाले धेरै सुतेकै अवस्थामा पुरिए। कतिका हातखुट्टा भाँचिएका छन् भने कतिका शरीरमा चोटपटक लागेको उनले बताए।
भूकम्पका कारण छेपारे टोलमा ३९ वटै घर क्षतिग्रस्त भएकाले बस्न नसक्ने अवस्थामा रहेको उनको भनाइ छ। “अहिले हामी सबै बाहिरै बस्न बाध्य छौँ। चिसोमा बालबालिका र गर्भवतीहरू कठांग्रिएका छन्। न ओढ्ने कपडा छ, न खानका लागि गाँस नै छ,” उनले भने, “हिजो एउटा संस्थाका प्रतिनिधिले चाउचाउ दिनुभयो। त्यसबाहेक अहिलेसम्म कसैले सहयोग गरेको छैन।” चिसो मौसम भएकाले रातको समयमा बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति समस्या परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
भूकम्पका कारण सोही गाउँका मानबहादुर मल्लको परिवारमा बज्रपात पर्यो। भूकम्पले घर ढलाएपछि ६ जनाको परिवारमध्ये पाँच जनाको जीवितै उद्धार भए पनि १२ वर्षीय छोरी गुमाउनु पर्यो। “भत्किएको घर त फेरि बनाउन सकिएला तर छोरी गुमाउनु पर्यो”, गहभरि आँसु बगाउँदै मल्लले भने, “परिवारका सबैलाई चोटपटक लागेको छ। घाइते छोराको सुर्खेतमा उपचार भइरहेको छ।”
सोही गाउँकै हीरा विकको माइतीको घर पनि पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। “दाइको घरमा आएकी थिएँ। त्यही बेला भूकम्पले घर भत्कायो। भदै बोल्न नसक्ने अवस्थामा च्यापिएका रहेछन्। कुटोले खोदलेर घाइते अवस्थामा उद्धार गर्न सकेँ। अहिले उपचार भइरहेको छ,” उनले भने। विकले उद्धार सकिएको भन्दै अब सरकारले राहत र पुनर्स्थापनामा ध्यान दिन माग गरे।
छेपारे गाउँमा मात्रै भूकम्पमा परी ११ जनाको ज्यान गएको छ। सरकारले उद्धार सकिएकाले यतिबेला राहत वितरण शुरू गरिसकेको छ। सरकारले पहिले राहत वितरण र त्यसपछि पुनर्स्थापनाको काम शुरू गर्ने बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
