गोरखाको स्तुल खोलामा बेलीब्रिज, आवतजावतमा सहज

पुल बनेपछि आरुघाट–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका बासिन्दालाई बजार आवतजावत गर्न सहज भएको छ।

गोरखा– गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ।

आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल तीन करोड ८० लाख रुपैयाँ लागतमा बेलीब्रिज निर्माण गरिएको हो।

एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काका अनुसार आरुघाट गाउँपालिका–८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खामा सवारीसाधान गुडाउन कठिनाइ हुने गरेको थियो। पुल निर्माणको काम एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिए पनि ठेकेदार कम्पनीले चार महिनाभित्रै सम्पन्न गरेको उनले बताए।

बेलीब्रिज निर्माण भएसँगै आरुघाट बजार हुँदै सवारीसाधानमार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दालाई सहज भएको छ। पुल नबन्दा हिउँदमा जसोतसो सवारीसाधन वारपार गराए पनि बर्खामा  सञ्चालन गर्न नसकिने अवस्था थियो। 

यस्तै, आरुघाट–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका बासिन्दालाई पनि बजारसम्म आवतजावत गर्न सहज भएको छ।