प्रधानमन्त्री राहत कोषमा कांग्रेसको ५० लाख र एकीकृत समाजवादीको २५ लाख सहयोग

प्रधानमन्त्री दाहालले खोज र उद्धारको पहिलो चरणको काम सम्पन्न भएको तथा अब राहत र पुनः निर्माणको दोस्रो चरणको काम द्रुतगतिमा हुने बताएका छन्। 

काठमाडौँ– नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्। 

मंगलबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन्। कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनः स्थापना र पुनः निर्माणका लागि नौ बुँदे सुझाव पेस गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ।

कांग्रेसले राहत र पुनः निर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनः स्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई संघीय सरकारको अनुगमन र सहजिकरणका लागिसमेत सुझावसमेत दिएको छ।

यसैगरी, एकीकृत समाजवादीले २५ लाख रुपैयाँ सहयोग गरेको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताको टोलीले मंगलबार नै प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाख बराबरको चेक हस्तान्तर गरेको थियो। सो अवसरमा प्रधानमन्त्री दाहालले विगतका राम्रा अनुभवको अनुसरण गर्ने बताए। उनले खोज र उद्धारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको तथा अब राहत र पुनः निर्माणको दोस्रो चरणको काम द्रुतगतिमा हुने बताए। 

प्रधानमन्त्री दाहालले आगामी दिनमा भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा भण्डारणको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कामबारे छलफल भएको बताए।