जाजरकोटमा १ जना घाइतेलाई भेटेर फर्किए राष्ट्रपति

भेरी नगरपालिका–३ की भूकम्पपीडित ६३ वर्षीया शितली कामीले राष्ट्रपति पौडेलसँग गाँस, बास र कपासको प्रबन्ध गरिदिन आग्रह गरिन्।

जाजरकोट– राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा आइपुगेका छन्।

भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न भन्दै जाजरकोट आएका राष्ट्रपति पौडेल एक जना घाइतेलाई भेटेर फर्किएका छन्। जाजरकोट अस्पतालमा उनले एकजना भूकम्पका घाइते बिरामी र एकजना दिर्घरोगका बिरामीलाई भेटेका हुन्।

भेरी नगरपालिका–३ की भूकम्पपीडित ६३ वर्षीया शितली कामी र भेरी–२ का दिर्घरोगका बिरामी गोरेबहादुर ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। 

राष्ट्रपति पौडेलसँग शितलीले गाँस, बास र कपासको प्रबन्ध गरिदिन आग्रह गरिन्। राज्यले हालसम्म आफूलाई केही पनि सहयोग नगरेको उनको गुनासो थियो। राष्ट्रपतिका अगाडि उनी भक्कानिएकी थिइन्। तर राष्ट्रपति पौडेल भने उनको गुनासो राम्ररी नसुनी हिँडेका थिए।

त्यसपछि अस्पतालमा नै जिल्लास्थित सरोकारवालासँग भूकम्पको क्षति, राहत र उद्धारबारे जानकारी लिएका थिए। उनी यहाँबाट अर्को प्रभावित जिल्ला रूकुम पश्चिम जाने कार्यक्रम छ।