चिकित्सकमाथि कुटपिटको विरोधमा पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कानूनबमोजिम कारबाही नगरेसम्म आन्दोलन जारी रहने चिकित्सक डा. दीक्षान्त आचार्यले चेतावनी दिए।

काठमाडौँ– चिकित्सकमाथि कुटपिट गरेको विरोधमा ललितपुरको पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आवासीय चिकित्सकहरू विरोध प्रदर्शनमा उत्रिएपछि अस्पतालको आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेका हुन्।

चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कानूनबमोजिम कारबाही नगरेसम्म आन्दोलन जारी रहने चिकित्सक डा. दीक्षान्त आचार्यले चेतावनी दिए। उनले चिकित्सकलाई बन्धक बनाउने, कुटपिट गर्नेलाई कारबाही गर्ने काम नगरेको भन्दै सरकार र प्रहरी प्रशासनप्रति पनि आक्रोश व्यक्त गरे।

“हामीले गल्ती नगरीकन गल्ती गरेको भन्नेजस्ता शब्द, लापरबाही गरेको भन्नेजस्ता शब्द प्रयोग नगर्नूस् भनेको हो। हाम्रो इच्छा त बिरामीले राम्रो उपचार पाउनु पर्‍यो, बिरामीले राम्रो सेवा पाउनुपर्‍यो भन्ने हो,” उनले भने, “जो–जो पीडक पक्ष हुनुहुन्छ, उहाँलाई प्रहरीले नियन्त्रणमा लिनुपर्‍यो भन्ने माग छ।”

अस्पतालमा गत कात्तिक १८ गते शनिबार ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि कुटपिट गरी बन्धक बनाएको आन्दोलनरत चिकित्सकको भनाइ छ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले हातमा कालोपट्टि बाँधेर अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले स्वास्थ्य सेवामाथि राजनीति बन्द गर्नुपर्ने, स्वास्थ्यकर्मीविरुद्ध हिंसा बन्द गर्नुपर्ने, चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन्। उनीहरूले चिकित्सकमाथि कुटपिटमा संलग्नलाई सरकारले कारबाही नगरेसम्म आफूहरूको आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।