गणतन्त्रलाई मजबुत बनाउन भूमिका खेल्ने शीर्ष नेताको प्रतिबद्धता

शीर्ष नेताहरूले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट पीडितलाई प्रभावकारी ढंगबाट राहत र उद्धारका काम अगाडि बढाउन सरकारलाई सुझाव दिएका छन्।

काठमाडौँ– राजनीतिक दलका शीर्ष नेतृत्वले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुत बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा १२ बुँदे सहमति, शान्तिप्रक्रिया र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलका नेताबीच गणतन्त्रलाई सुदृढीकरण गर्दै अघि बढ्ने सहमति भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

शीर्ष नेताले दलहरूबीच आपसी मतभेद भए पनि एकताबद्ध हुँदै लोकतन्त्रको सुदृढीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको उनले बताए।

बैठकमा सहभागी दलका नेताहरूले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि भइरहेका आक्रमणको समीक्षा गर्दै प्राप्त उपलब्धिलाई सबल बनाउन आगामी दिनमा बहुपक्षीय र द्विपक्षीय छलफल गर्दै अघि बढ्ने सहमति गरेको उनको भनाइ छ। 

“छलफलमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले बलियो प्रतिबद्धता व्यक्त गर्नुभयो, प्राप्त उपलब्धिलाई थप सबल बनाउन आ–आफ्नो तहबाट भूमिका खेल्ने उहाँहरूको सामूहिक प्रतिबद्धता थियो,” उनले भने।

उनका अनुसार शीर्ष नेताले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट पीडितलाई प्रभावकारी ढंगबाट राहत र उद्धारका काम अगाडि बढाउन सरकारलाई सुझाव दिएका थिए। उनीहरूले पछिल्ला समय सामाजिक सञ्जालबाट संविधान, लोकतन्त्र, राजनीतिक प्रणाली, नेतृत्वकाविरुद्ध भइरहेका दुष्प्रचारबारे सरकारको ध्यानाकर्षणसमेत गराएका थिए।

छलफलमा प्रधानमन्त्री दाहालले सरकार विद्यमान कानूनअनुसार सामाजिक सञ्जालको गलत प्रयोगलाई नियमन गरेर मर्यादित समाज निर्माण गर्न लागिपरेको बताएका थिए।

छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका शीर्ष नेताको उपस्थिति थियो।