बेलायती संसदमा ७० वर्षपछि राजाको सम्बोधन

गत वर्ष आफ्नी आमा महारानी एलिजाबेथ द्वीतीयको निधन भएपछि राजा बनेका चार्ल्स तृतीयले पहिलोपटक राजाको रूपमा संसदमा सम्बोधन गरेका हुन्।

बेलायको संसदमा ७० वर्षपछि राजाले सम्बोधन गरेका छन्। बेलायतका राजा चार्ल्स तृतीयले मंगलबार संसदमा सम्बोधन गरेका हुन्।

यसअघि राष्ट्राध्यक्षको रुपमा ७० वर्षसम्म महारानी एलिजाबेथ द्वीतीयले सम्बोधन गर्ने गरेकी थिइन्। आफ्ना बुवा जर्ज छैठौँको सन् १९५२ मा निधन भएपछि महारानी बनेकी एलिजाबेथ ७० वर्षसम्म बेलायतको राष्ट्राध्यक्ष रहिन्। गत साल सेप्टेम्बर ८ मा ९६ वर्षको उमेरमा एलिजाबेथको निधन भएपछि उनका छोरा अर्थात् राजा चार्ल्स तृतीयले पहिलोपटक संसदमा सम्बोधन गरेका हुन्।

उनले आफ्नी आमा तथा महारानी एलिजाबेथलाई श्रद्धाञ्जली अर्पण गर्दै संसदमा सम्बोधन गरेका बीबीसीले जनाएको छ। चार्ल्सले आफ्नी आमाले प्रयोग गर्ने उद्धरण ‘देशको सेवा र भक्तिको विरासत’ भन्दै सम्बोधन शुरू गरे। 

उनले कोरोना महामारीपछि थलिएको देशको समग्र अवस्थालाई सुदृढ गर्दै अघि बढ्न आह्वान गरेका छन्। यस्तै उनले रसिया युक्रेन युद्धको उल्लेख गर्दै देशले कठिन तर दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्।

उनले आर्थिक मन्दीलाई कम गर्न महत्त्वपूर्ण काम गर्नुपर्ने पनि बताएका छन्। राजा चार्ल्सले गरेको सम्बोधनको 'ड्राफ्ट' प्रधानमन्त्री ऋषि सुनकले लेखेका हुन्।

यसअघि चार्ल्स तृतीयले २०२२ को मे १० मा महारानीका रूपमा संसदलाई सम्बोधन गरेका थिए। त्यतिबेला महारानी एलिजाबेथ स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसकेपछि उनका छोरा चार्ल्सले सम्बोधन गर्नुपरेको थियो। यो सम्बोधन भने उनले राजाकै रूपमा गरेका हुन्।