चिसो बढेपछि बेँसी सारिँदै गोठ, खाली भए लेकका खर्क

अग्ला लेक लगिएका भेडाच्याङ्ग्रा र चौँरी असारदेखि नै बेँसीतर्फ झार्न थालिएको छ। अब होचा स्थानमा, घर वरपर नै गोठ राखिने स्थानीयको भनाइ छ। 

मनाङ– मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ। अत्यधिक चिसो बढ्न थालेपछि गोठालाले गोठ सार्न थालेका हुन्।

मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार ६०० मिटर उचाइबाट बेँसी झार्न थालिएको बताए। मनाङ ङिस्याङ–८ जुलुमा ३७ परिवारले सामूहिक रूपमा गोठ राखेका थिए। चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव भएपछि लेकबाट गोठ बेँसीतर्फ सारिएको गरुङको भनाइ छ। 

व्यावसायिक रूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उनले बताए। गुरुङले भने, “गत वर्ष विभिन्न रोगले २२ चौँरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन,” गत वर्ष हिमपहिरोमा परी २५० भन्दा बढी भेडाच्याङ्ग्रा तथा चौँरी मरेको सुनाउँदै उनले भने, “अहिले त झन् हिउँचितुवाले पनि सताएको छ।”

पशुपालक किसान याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले चितुवाले बढी सताउने गरेको बताए। उनले भने, “पहिले चौँरी र भेडाच्याङ्ग्रा धेरै थिए। तर पाल्ने क्रम कम भएको छ। चितुवाको आक्रमण बढ्दा अझ समस्या थपिएको छ।” अहिले साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुने गरेको गुरुङको भनाइ छ। “केही बाच्छाबाच्छी चितुवाले आक्रमण गर्दा नै धपाउन पाएका हुन्छौँ । कहिले त कति बेला खायो नै थाहा हुँदैन। राहतका लागि झन्झट छ,” उनले भने। 

१० हजार लिन आउँदा जाँदा र कागजात बनाउँदा २५ देखि ३० हजार रुपैयाँ खर्च हुने गरेको उनको गुनासो छ। “पहिलेको जस्तो घाँस हुँदैन। घाँस अभावले अहिले झन्झन् माथिल्लो लेक गोठ सार्नुपरेको छ। न समयमा हिउँ पर्छ यसले गर्दा पनि घाँसको समस्या हुँदै गएको हो,” उनले भने। मौसमलाई हामीले मिलाउन नसकिने हुँदा किसानले सास्ती भोग्दै आएको उनले सुनाए। 

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राईले भेडाच्याङ्ग्रा, चौँरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताए। स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उनको भनाइ छ। 

गत असारदेखि अग्ला लेक लगिएका भेडाच्याङ्ग्रा र चौँरी गोठालाले बेँसीतर्फ झारिरहेका छन्। लेकका खर्क खाली भएका छन्। कात्तिक मध्यबाट घरवरपर नै गोठ राखी खुवाउने गरिन्छ। अब होचा स्थानमा भेडाच्याङ्ग्रा र चौँरीको गोठ राखिनेछन्।