चीनद्वारा भूकम्पपीडितलाई प्रदान गरिएको राहत सामग्री ग्रहण

चीनले पीडितका लागि प्रदान गरेका ब्ल्यांकेट, टेन्टलगायत सामग्री चीनको छेन्दु विमानस्थलबाट दुईवटा विमानमार्फत बुधबार पोखरा विमानस्थलमा ल्याइएको हो।

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले भूकम्पपीडितका लागि प्रदान गरेको राहत सामग्री ग्रहण गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित आपत्कालीन सहयोग हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीन सरकारले प्रदान गरेका राहत सामग्री उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। चीनले पीडितका लागि प्रदान गरेका ब्ल्यांकेट, टेन्टलगायत सामग्री चीनको छेन्दु विमानस्थलबाट दुईवटा विमानमार्फत बुधबार पोखरा विमानस्थलमा ल्याइएको हो।

सहयोग हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नेपाललाई संकट पर्दा जहिले पनि चीनबाट सहयोग प्राप्त हुने गरेको बताए। उनले नेपाल र चीनबीचको इतिहासदेखिको सम्बन्ध सार्वभौमसत्ता, स्वतन्त्रता र पारस्परिक हितमा आधारित रहेको पनि उल्लेख गरे।

“नेपालको आर्थिक विकाससँगै संकटको बेला जहिले पनि चीनले सहयोग गर्दै आएको छ । चीन सरकारले हामीलाई संकटका समयमा सहयोग र सहानुभूति प्रदान गर्दै आएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “विसं २०७२ को भूकम्प, कोभिड महामारी र अहिले जाजरकोटमा गएको भूकम्पका बेला पनि चीन हामीसँगै छ।”

नेपालका लागि चिनियाँ राजदूत सोङले भूकम्पबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध मित्रताको रहेको जनाउँदै संकटमा पनि एकअर्कालाई सहयोग गर्दै अघि बढेको बताए।

चीनद्वारा भूकम्पपीडितका लागि प्रदान गरिएका राहत सामग्री सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिए।