भूकम्पबाट प्रभावित पत्रकारलाई महासंघको राहत

महासंघका महासचिव रोशन पुरीले भूकम्पबाट दुईवटा सञ्चार संस्थाको भवन पूर्णरूपमा क्षति भएको जनाउँदै दर्जनौँ पत्रकारले बास गुमाएका बताए।

काठमाडौँ– जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६.४ रेक्टरस्केलको भूकम्पबाट प्रभावित सञ्चार संस्था तथा पत्रकारलाई नेपाल पत्रकार महासंघले राहत उपलब्ध गराउने भएको छ।

बुधबार काठमाडाैँमा आयोजित पत्रकार सम्मेलनमा महासंघले वैदेशिक शाखा र अन्य संघ संस्थामार्फत राहत संकलनका लागि पहल गर्ने जनाएको छ। भूकम्पले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको असर र श्रमजीवी पत्रकारको पक्षमा गरिएको आन्दोलनका विषयमा पनि छलफल भएको महासंघका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए। पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्र बनाउन महासंघले प्रयास गरिरहेको उनको भनाइ थियो।

अध्यक्ष पोख्रेलले कान्तिपुर मिडिया ग्रुपले महासंघलाई विभिन्न आरोप लगाउनुभन्दा गैरकानूनी ढंगबाट निष्कासित गरिएका पत्रकारलाई श्रमजीवी पत्रकार ऐनअनुसार सेवा, सुविधा दिन आग्रह गरे।

महासंघका महासचिव रोशन पुरीले संकलित राहत महासंघको केन्द्रीय समितिका पदाधिकारी, सदस्य तथा प्रदेश र जिल्ला समितिका पदाधिकारीबाट संकलन गरेर प्रभावित क्षेत्रका सञ्चार संस्था र पत्रकारको विवरणका आधारमा वितरण गरिने बताए। उनले भूकम्पबाट दुईवटा सञ्चार संस्थाको भवन पूर्णरूपमा क्षति भएको जनाउँदै महासंघका दुई जना केन्द्रीय सदस्यसहित दर्जनौँ पत्रकारले बास गुमाएका बताए।