पाँच राउन्ड गोली र लागुऔषधसहित दुई युवक पक्राउ

थ्री नट थ्री राइफलको गोली र गाँजासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडाैँ– सप्तरीको खडक नगरपालिका–११ बनौलीबाट पाँच राउन्ड गोली र लागुऔषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय धर्मजितकुमार यादव र सप्तरी खडक नगरपालिका–११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन्। थ्री नट थ्री राइफलको गोली ५ राउन्ड, अवैध लागुऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागुऔषध नाइट्राभेट २ ट्याब्लेटसहित उनीहरूलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितलाई ५ राउन्ड गोली र किशोरलाई लागुऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।