भूकम्प प्रभावित क्षेत्रमा एमालेले स्वयंसेवक परिचालन गर्ने

एमालेको केन्द्रीय सचिवालय बैठकले मंसिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी अस्थायी घर टहरा बनाएर भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ।

काठमाडाैँ– नेकपा (एमाले)ले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ।

बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी हजारौँ अस्थायी घर टहरा बनाएर भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो। उनीहरूले करोडौँ मूल्य बराबरको श्रमदान गर्नेगरी सो कामको संयोजन पार्टीको कर्णाली प्रदेश कमिटीलाई दिने निर्णय भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

"हामीले २०७२ मा विनाशकारी भूकम्पपछि ५० हजार स्वमयसेवकहरू परिचालन गरेर ३ महिनाको बीचमा २७ हजार घर टहराहरू बनाएर हस्तान्तरण गरेका थियौँ। यही लेबलमा एक हजार स्वयंसेवकहरू मंसिर १ गतेदेखि त्यहाँ खटिनुहुनेछ," ज्ञवालीले भने, "हामी पाँच हजार कार्यदिन भन्दा बढी त्यहाँ खटिने छौँ। एक करोड भन्दा बढी मूल्यको चाहीँ हामीले श्रम गर्नेछौँ र हजारौँ टहराहरू बनाएर नागरिकहरूलाई अस्थायी तर न्यानो घरमा चाहीँ बसाएर फर्कनेछौँ।"

त्यसैगरी एमालेले राहत वितरणको कामलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ। राहत वितरणमा राजनीतिकरण भइरहेको निष्कर्ष निकाल्दै एमालेले त्यसो नगर्न पनि सरकारलाई भनेको उपमहासचिव ज्ञवालीले बताए।

एमालेले विपद्का बेला भूकम्प प्रभावित क्षेत्रलाई सेल्फी खिच्ने ठाउँको जस्तो व्यवहार नगर्न पनि सम्बन्धित व्यक्ति तथा पक्षलाई सचेत गराएको छ ।