अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख पेलोसी पदबाट बाहिरिँदै

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी पदबाट बाहिरिने भएकी छन्। मध्यावधि चुनावपछि सभामुखमा अर्का व्यक्ति सिफारिस भएपछि पेलोसी बाहिरिन लागेकी हुन्।

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले पदबाट बाहिरिने भएकी छन्। 

“मैले घरगृहस्थीबाट सांसद बनौँला भनेर कहिल्यै सोचेकी थिइन”, पेलोसीले भनेकी छन्, “अब आगामी संसद्‌मा  डेमोक्रेटिक पार्टीको तर्फबाट नेतृत्वको चुनावमा सहभागी हुनेछैन। अब संसद् हाँक्ने जिम्मा नयाँ पुस्तालाई दिनुपर्छ।”

विपक्षी रिपब्लिकन पार्टीले मध्यावधि चुनावमा तल्लो सदनमा बहुमत ल्याएर र सभामुखका रूपमा अर्का व्यक्ति सिफारिस भएपछि उनी पदबाट बाहिरिनु परेको हो।

अमेरिकी संसद्‌मा दुई दशकयता डेमोक्रेटिक पार्टीको नेतृत्व गरेकी ८२ वर्षीय पेलोसी सभामुख पदबाट बाहिरिन लागेकी हुन्। उनी डेमोक्रेटिक पार्टीकी शक्तिशाली महिला सांसद हुन्। साथै, पेलोसी अमेरिकी इतिहासमै पहिलो महिला सभामुख पनि हुन्।

अब हाउस अफ रिप्रिजेन्टेटिभ्समा पेलोसीले आफ्नो क्यालिफोर्निया जिल्लाको प्रतिनिधित्वलाई भने निरन्तरता दिइरहनेछिन्। यद्यपि, नयाँ संसद्ले जिम्मेवारी नलिँदासम्मका लागि आगामी जनवरीसम्म भने पेलोसीले नै कार्यभार सम्हालिरहनेछिन्।

सन् १९८७ मा यस पदमा रहेकी पेलोसी सन् २०२५ सम्ममा सांसदको रूपमा कायम रहनेछिन्। 

यसअघि संसद्लाई सम्बोधन गर्दे अमेरिकी राष्ट्रपति जो बाइडनले हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखका रूपमा पेलोसी अमेरिकी इतिहासकै प्रभावशाली सांसद भन्दै प्रशंसा गरेका थिए।

अब रिपब्लिकन पार्टीका सांसद केभिन म्याकर्थी हाउस अफ रिप्रिजेन्टेटिभ्सको नयाँ सभामुख बन्नेछन्।