साल्ट ट्रेडिङले बढायो चिनीको कोटा

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा जनही २० बोरा चिनी दिन थालेको छ। यसअघि १० बोरा मात्रै दिने गरेको थियो। 

काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्रीका लागि  खुद्रा किराना पसललाई प्रदान गर्दै आएको चिनीको कोटा बढाएको छ।

साल्ट ट्रेडिङले उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्‍याएको हो। 

प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ। साल्ट ट्रेडिङका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म ४५० भन्दा बढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि लगिसकेका छन्।

“काठमाडौँ उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले साल्ट ट्रेडिङबाट चिनी लिन सक्छन्,” उनले भने। सरकारले नै निर्धारण गरिदिएको प्रतिकिलो ११२.५० पैसामा खुद्रा बिक्रीकर्तालाई चिनी बिक्री गरेको हो।  

साल्ट ट्रेडिङले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकिलो ९७ रुपैयाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ। सरकारले नियन्त्रणमा लिएको ७०० क्विन्टल चिनी नै कर्पोरेसनले सहुलियत दरमा बिक्री गरेको हो।

दशैँ, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार मेक्ट्रिकटन चिनी खपत हुने गरेको आँकडा छ। तर, सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा उपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आएका छन्। 

सरकारले साल्ट ट्रेडिङलाई भारतसँग १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो। तर, भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ।