सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहसनोट पेस गर्न आदेश

सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले बहसनोट पेस गर्न आदेश दिएको छ।

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्धको मुद्दामा वादी र प्रतिवादीका तर्फबाट बहसनोट पेस गर्न आदेश दिएको छ। लामिछानेविरुद्ध मुद्दामा जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बिहीबार दुवै पक्षलाई बहसनोट पेस गर्न आदेश दिएको हो।

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइका लागि काठमाडौँ जिल्ला अदालतले बिहीबार पेसी तोकेको थियो। लामिछानेविरुद्धको मुद्दाको पेसी जिल्ला न्यायाधीश घिमिरेको इजलासमा पाँचौँ नम्बरमा तोकिएको थियो। लामिछानेतर्फका वकिल सरोजकृष्ण घिमिरेले बहसनोटका विषयमा छलफल भएको बताए। काठमाडौँ जिल्ला अदालत पेशी स्थिति विवरणमा भने लामिछानेविरुद्धको मुद्दामा बहसनोट पेस गर्न आदेश भएको उल्लेख छ। 

उनीविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौँ जिल्ला अदालतमा चलिरहेको हो। सन्दीपविरुद्ध गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो। लामिछानेविरुद्ध गौशाला २६ (परिवर्तित नाम)बाट उजुरी परेको थियो।

यसअघि जिल्ला न्यायाधीश राजकुमार खतिवडाको इजलासले गौशाला २६ र उनको आमाको उमेर विवादसँग सम्बन्धित कागजात मगाउन आदेश दिएको थियो। पीडितको उमेरको विषयमा विवाद देखिएपछि इजलासले पनि उमेर विवाद के हो भन्नेबारे सक्कल कागजात पेस गर्न आदेश दिइसकेको छ।

भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो भने सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारा थुनामा पठाएको थियो। तर, पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो।