रोजगारीका लागि इस्टोनिया पठाउने भन्दै ३४ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

इस्टोनिया जान ७ लाख रुपैयाँ लाग्ने र महिनाको डेढ लाख रुपैयाँ कमाइ हुने भन्दै पाँच जनाबाट ३४ लाख १३ हजार रुपैयाँ लिएर सम्पर्कविहीन थिए।

काठमाडौँ–  वैदेशिक रोजगारीको लागि युरोपेली देश इस्टोनिया पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गोरखा पृथ्वीनारायण नगरपालिका घर भइ काठमाडौँ तार्केश्वर नगरपालिका बस्ने ३५ वर्षीय राजेश श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनले जनक बरालसहित पाँच जनालाई वैदेशिक रोजगारीमा इस्टोनिया पठाइदिन्छु भन्दै उनीहरूबाट पैसा मागेर सम्पर्कविहीन भएका थिए।

काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राजेशले इस्टोनिया जान ७ लाख रुपैयाँ लाग्ने र महिनाको डेढ लाख रुपैयाँ कमाइ हुने भन्दै पाँचै जनाबाट ३४ लाख १३ हजार रुपैयाँ लिएर फरार रहेका थिए।

पैसा लिएर लामो समयसम्म पनि आफूलाई विदेश नपठाएपछि पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। विभागबाट पक्राउ गरी उपस्थित गराउन पत्राचार गरेपछि अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। अहिले थप अनुसन्धानको लागि विभागमा पठाइएको प्रहरीले जनाएको छ।

पछिल्लो समय युरोपेली देशको रोजगारीको प्रलोभनमा परेर ठगिने क्रम बढेको छ। वैदेशिक रोजगार विभागले कसैको प्रलोभनमा परेर पैसा नबुझाउन र राम्रोसँग बुझेर विभागबाट इजाजतप्राप्त म्यानपावरमार्फत मात्र जान आग्रह गर्दै आएको छ।