एउटै ब्रान्डको विद्युतीय गाडीलाई मात्र ट्याक्सी बनाउने नीति गलत: घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा ट्याक्सीका रूपमा जुनसुकै ब्रान्डका गाडी आए पनि ती सबैलाई सहमति दिन आवश्यक रहेको बताए।

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा ट्याक्सीका रूपमा भित्रने सबै ब्रान्डका विद्युतीय सवारीसाधनलाई अनुमति दिनुपर्ने बताएका छन्।

बिहीबार काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजित राइड शेयरिङ एप ई–ड्राइभ नेपाल सफ्टवेयर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले सरकारले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति लिनु गलत भएको बताएका हुन्। उनले नेपालमा ट्याक्सीका रूपमा जुनसुकै ब्रान्डका गाडी आए पनि ती सबैलाई सहमति दिन आवश्यक रहेको बताए।

“जुन अहिले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चल्ने गरी सहमति दिने नीति लिइएको छ, त्यो गलत छ। जति पनि ट्याक्सी रूपमा आउँछन् ती सबैलाई सहमति दिनुपर्छ। नेपालमा व्यवसायीहरूले जुन ट्याक्सी ल्याउँछु भन्नुहुन्छ त्यो सबैलाई सहमति दिनुपर्छ। एक जनालाई मात्रै मानोपोली गर्न दियो भने त्यसको लागत सबै माथि जान्छ,” उनले भने।

यो पनि – विद्युतीय ट्याक्सीमा प्रदेशले ल्याए निश्चित कम्पनीलाई लाभ हुने मापदण्ड, संघले खोल्ला प्रतिस्पर्धी बजार?

उनले विद्युतीय सवारीसाधनहरूलाई पनि सडक अनुमतिपत्र खुला गर्न आवश्यक रहेको औँल्याए। पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युत्मा प्रतिस्थापनका लागि सहुलियत दिनुपर्ने उनको भनाइ छ।

उनले विद्युतीय गाडीको आयात बढिरहेको बताए। पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनभन्दा विद्युतीय सवारीसाधनको लागत १५ गुणा सस्तो रहेको बताउँदै उनले अब जान्ने बुझ्ने मानिसहरूले डिजेल पेट्रोलबाट चल्ने सवारीसाधन नकिन्ने उल्लेख गरे।

विद्युतीय सवारीसाधनको प्रयोग बढाएर व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ। “५ खर्बको डिजेल पेट्रोल आयातलाई बन्द गर्ने र ७ खर्बको निर्यात गर्ने हो भने नेपालको व्यापार घाटा शून्य हुन्छ। व्यापार घाटामा नेपाल पोजेटिभ तिर जान्छ। ठूलो ट्रान्सफरमेसन विद्युत्बाट हुन्छ,” उनले भने।

उनले केही वर्षअघि विद्युत् खपत कम गर्ने योजना बनाउनुपर्ने अवस्था रहे पनि अहिले नेपालमा उत्पादित भएको विद्युत् लिइदिनुपर्‍यो भनेर भारत र बांग्लादेशसँग आग्रह गर्नुपर्ने अवस्थामा रहेको बताए।

कार्यक्रममा प्रदूषणरहित सुन्दर शहर भन्ने नाराका साथ नेपाली सफ्टवेयर इन्जिनियरहरूको समूहले पहिलोपटक निर्माण गरेको इ–ड्राइभ नेपाल विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक गरेको थियो। काठमाडौँ उपत्यकाभित्र आफ्नै भाडाका विद्युतीय ट्याक्सीलाई व्यवस्थापन गरी सफ्टवेयरमार्फत ग्राहकलाई सहज सेवा दिन शुरू गरिएको इ–ड्राइभ नेपालका प्रमुख कार्यकारी अधिकृत सविन भट्टराईले बताए। 

उनले आफ्नै विद्युतीय सवारीसाधन सञ्चालनका लागि सीतापाइलामा र एकान्त कुनामा चार्जिङ स्टेसनसमेत स्थापना गरिएको जानकारी दिए। राइड शेरिङको नयाँ फिचरसहितको अनलाइन इ–ड्राइभमार्फत विद्युतीय ट्याक्सीको सेवा लिन सकिने उनको भनाइ छ।