देश अझै आर्थिक दबाबमा छः प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले अर्थतन्त्रका सूचक केही सकारात्मक देखिए पनि अझै दबाब कायमै रहेको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अझै आर्थिक दबाबबाट गुज्रिरहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रका सूचक केही सकारात्मक देखिए पनि अझै दबाब कायमै रहेको बताएका हुन्। 

उनले अर्थतन्त्रमा देखिएको समस्या अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता औँल्याए। “अहिले अर्थतन्त्रका सूचकहरू केही सकारात्मक हुन गए तापनि हामी अझै आर्थिक दबाबमा छौँ। यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छौँ,” उनले भने।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा समस्या रहेको बताए पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले भने अर्थतन्त्र बिस्तारै सहज अवस्थामा पुग्न थालेको दाबी गर्दै आएका छन्। 

भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढिरहेको बताए। “सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको सन्दर्भमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ,” उनले भने।

प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकतासाथ पहलकदमी लिएको दाबी गरे। उनले २०७२ सालको भूकम्पबाट सिकेको पाठले यसपटक पुनर्स्थापना र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाउन सघाउने बताए।