जर्मनीद्वारा संकटग्रस्त उद्यमका लागि राहत प्याकेज घोषणा

अर्थविद्हरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने आकलन गरेका छन्।

जर्मनीले बिहीबार विनिर्माण क्षेत्रका लागि बिजुलीमा कर कटौतीसहित राहत प्याकेजको घोषणा गरेको छ। 

बर्लिनले कोभिड महामारी र युक्रेन–रुस युद्धका कारण प्रभावित अर्थव्यवस्थालाई गति उद्देश्यले राहत प्याकेज घोषणा गरेको हो। अर्थविद्हरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने आकलन गरेका छन्।

“सरकार अर्थतन्त्र सुधारका लागि धराशायी बनेका उद्यमहरूलाई प्रोत्साहन गर्न तत्पर छ। यसका लागि, आगामी वर्षमा मात्रै राहत १२ अर्ब युरो (१२.८ अर्ब अमेरिकी डलर) पुग्नेछ,” चान्सलर ओलाफ स्कोल्जले राहत कार्यक्रमबारे भने।

सन् २०२४ र सन् २०२५ मा उत्पादन क्षेत्रका लागि विद्युत् कर हालको १.५३७ सेन्ट प्रतिकिलोवाटबाट घटाएर ईयूको न्यूनतम ०.०५ सेन्ट प्रतिकिलोवाटमा झारिने सरकारको पछिल्लो घोषणामा उल्लेख छ।